काठमाडौं। नेपालमा पहिलो पल्ट नेवाः आइडल कार्यक्रमको बृहत तयारीको पूर्वसन्ध्यामा व्यापक छलफल कार्यक्रम भएको छ।

फाल्कन इभेन्टको आयोजनामा हुन गैरहेको नेवाः आइडलमा विशेषत नेवार सम्प्रदायको मात्र सहभागिता गर्ने या गराउने तथा यसमा गैरनेवारहरुको पनि सहभागिता गराउने विशेषमा व्यापक छलफल भएको हो।

जसमा नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठदेखि नेपालका गोल्डेन भ्वाइस गायक प्रेमध्वज प्रधान, अग्रज अभिनेता एवम् निर्देशक पवन जोशी, सम्पदाप्रेमी गीतकार शैलेश लगंबरेजु, नायक सुरज व्यञ्जनकार, अग्रज साहित्यकार शशिकला मानन्धर, गायिका सरिता प्रजापति, पत्रकार नृपेन्द्रलाल श्रेष्ठसम्मले आ–आफ्ना विचार पोखेका थिए।

कतिले नेवाः आइडल भनेपछि नेवार सम्प्रदायको मात्र सहभागिता हुनुपर्ने धारणा पोखेका थिए भने, धेरैले नेपालभाषा जानेका गैरनेवारहरुलाई पनि यस नेवाः आइडलमा पनि सहभागिता गराउनु पर्ने र उनीहरु पनि प्रतियोगी बन्न पाउने राय प्रकट गरेका थिए।

प्रशान्त तामाङ नेपालीभाषी भएतापनि इण्डियन आइडलमा भाग लिएर इण्डियन आइडल बन्न सफल भएको बृतान्तलाई पुट दिदै लहना साप्ताहिकका पत्रकार नृपेन्द्रलाल श्रेष्ठले नेवाः आइडल सवैको साझा हुनुपर्ने अवधारणालाई धेरैले ठीक भनेको पाइयो।

अर्कोतर्फ आयोजक फाल्कन इभेन्टका म्यानेजिङ डाइरेक्टर मनोज नेवाः खड्गीले सवैको धारणा तथा अवधारणालाई मूत्र्तरुप दिदैं आफूहरु कात्तिक १५ गतेपश्चात प्रादेशिक रुपमा सातै प्रदेशमा अडिसनका लागि जान लागेको बताए।

नेवाः आइडल छलफल कार्यक्रमको संचालन नेपालभाषाका ख्यातिप्राप्त गायक पवित्र कसाःले गरेका थिए। कार्यक्रम संचालक कसाःले नेवाः आइडलमा प्रथम हुनेलाई मोटर, दोश्रो हुनेलाई मोटरसाइकल र तृतिय हुनेलाई स्कुटर सहित नगद पुरस्कारहरु राखिएको जानकारी दिएका छन्।

प्रकाशन मिति–२०७६ साल असोज १० गते शुक्रवार ।