काठमाडौं। रिटायर्ड बनिसकेका जीवित देवी कुमारीहरुले पनि मासिक पेन्सन पाएको छ। त्यो पनि एकमुष्ट पेन्सनको रुपमा श्रीपद भत्ताको रुपमा काठमाडौं महानगरपालिकाले वितरण गरेको हो।

काठमाडौंको खुसिबुँ नयाँबजार लिंकरोड स्थित नेपाःब्याँकक्विटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वितरण गरेका हुन्। रिटायर्ड नौजना कुमारीहरु नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य, प्रिति शाक्य र मनिता शाक्यलाई एकमुष्ट बार्षिक जनही नगद १५ हजारका दरले १६ लाख २० हजार प्रदान गरिएको छ। जनही एकजनालाई बार्षिक १ लाख ८० हजार पेन्सन पर्न गएको छ।

त्यसैगरेर, रिटायर्ड श्रीगणेश र श्रीभैरवहरु गणेश शाक्य, पुरुषोतम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रनवराज शाक्य, कपिलरत्न शाक्य, इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दिपक शाक्य, बाल पुरुषोतम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्यलाई जनही मासिक भत्ता १२ हजारको दरले १३ जनालाई बार्षिक एकमुष्ठ १८ लाख ७२ हजार प्रदान गरिएको छ। यस हिसावले १ जनाको भागमा १ लाख ५६ हजार परेको छ। बहालवाला कुमारीले भने मासिक भत्ता नगद ५० हजार पाउने भएको छ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिकाले सो समितलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो । यो वर्षदेखि करीब २४ लाख रुपौ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ । २०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख सहयोग गर्दै आएको थियो । अब सबै रकम महानगपालिकाले नै सहयोग गर्ने भएको छ।

श्रीपद भत्ता वितरण कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रदेश सभाका सांसदहरु डा.अजयक्रान्ति शाक्य, राजेश शाक्य, बसन्त मानन्धरको अलावा काठमाडौं महानगपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायतकाको विशेष आतिथ्यता रहेको थियो।
प्रकाशन मिति–२०७६ साल भदौं १५ गते आइतवार ।