काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण न्युजिल्याण्डमा रोकिएको खवर छ। न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरस (कोभिड–१९) लाई निर्मूल पारेको दाबी पनि गरेको छ।

Map of New Zealand

कान्तिपुरको अनलाइन संस्करण अनुसार, केही दिनयता दैनिक नयाँ संक्रमित एक जना मात्र भेटिएको जनाउँदै प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोभिड–१९ हालका लागि निर्मूल भएको बताएकी हुन् । उनका अनुसार आइतबारमात्र एक जना नयाँ संक्रमित भेटिएका हुन् । तर अधिकारीहरूले उक्त घोषणाबाट उत्साहित नहुन चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको भनाइको अर्थ भाइरसको संक्रमण अन्त्य भएको वा हुन नसक्ने निष्कर्ष निकाल्न नहुने उनीहरूको भनाइ छ।न्युजिल्यान्डले कडा प्रतिबन्धहरू हटाउनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्रीले उक्त घोषणा गरेकी हुन्।

न्युजिल्यान्डमा मंगलबारदेखि स्वास्थ्य तथा शिक्षा र अन्य व्यवसायहरू सुचारु हुने गरी प्रतिबन्ध हटाइएको छ। तर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा र सामाजिक जमघट गर्न नहुने नियम कायमै छन् । ‘मानिसको सामाजिक जीवन होइन, हामी अर्थतन्त्रलाई खोल्दैछौं,’ नियमित पत्रकार सम्मेलनमा आर्डर्नले भनिन्।

उनले ठूलो संख्याको समुदायमा संक्रमण फैलिन नपाएको भन्दै कोरोनाविरुद्धको युद्ध जितेको बताइन्। भाइरस अहिले निर्मूल भए पनि देश सावधान अवस्थामा रहनुपर्ने आर्डर्नको सुझाव छ । न्युजिल्यान्डमा कोभिड–१९ बाट संक्रमित भएका १ हजार ४ सय ६९ मध्ये १९ जनाको मृत्यु भएको छ।

न्युजिल्यान्डका स्वास्थ्य महानिर्देशक एस्ले ब्लुमफिल्डले पछिल्ला दिनमा देखिएको तथ्यांकले संक्रमण निर्मूल पार्ने लक्ष्य प्राप्त भएको विश्वास गर्न सकिने बताए। तर यसलाई नयाँ संक्रमण हुँदै नहुने रूपमा अर्थ लगाउन नहुने उनको भनाइ छ। न्युजिल्यान्डले संक्रमण फैलिन सुरु भएलगत्तै सीमा नाकाहरू बन्द गरेको थियो ।

त्यसपछि बृहत् रूपमा भाइरसको परीक्षण गरिएको थियो। ‘बेलैमा त्यसो नगरेको भए न्युजिल्यान्डमा दैनिक हजारको संख्यामा संक्रमित थपिने थिए,’ आर्डर्नले भनेकी छन् ।
प्रकाशन मिति–२०७७ साल बैशाख १६ गते मंगलवार ।