काठमाडौ। पढ्नलाई प्रेरणा मूल नारासहित २२ औं नेपाल अन्तरराष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ। नौ दिनसम्म चल्ने पुस्तक प्रदर्शनीको नेपालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितवाट उदघाटन पश्चात पुस्तक प्रदर्शनीको शुभारम्भ भएको हो।

काठमाडौको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा आयोजित कार्यक्रममा शुक्रबार मन्त्री पण्डितले उदघाटन गरेका हुन्। उदघाटन समारोहमा मन्त्री यादवले आफू पनि अत्यन्त पुस्तक प्रेमी भएको र जीवनपयोगी एवम् सकारात्मक सोचका पुस्तक पढ्ने गरेको खुलासा गरेका छन्। मन्त्री पण्डितले पुस्तक प्रदर्शनी बडा अभिरुचिका साथमा अवलोकन गरेर विभिन्न पुस्तकका बारेमा चासो र जानकारी लिएका थिए।

शिक्षाविद केदारभक्त माथेमाले पुस्तक पढ्नका लागि उमेरको कुनै हदवन्दी नहुने र जतिखेर पनि पढ्न मिल्ने बताउंदै पुस्तक पढ्ने बानीको उपयोगिताको बारेमा विव्दत प्रवचन दिने कार्य भएको थियो। प्रदर्शनीको विशेष अतिथिको रुपमा आमन्त्रित भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार विजेता आसामकी कवि तथा लेखिका एवं नेशनल बुक ट्रस्ट इण्डियाकी निर्देशक रीता चौधरीले पुस्तक प्रदर्शनीको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेकी थिइन्।

स्वदेश तथा विदेशका करिब ६० संस्थाहरुको पुस्तक प्रदर्शनीमा सहभागिता रहेको र जसमा विभिन्न उमेर, समूह र पेशा–व्यवसाय अनुकुल पुस्तकहरु राखिएको प्रदर्शनी निर्देशक सन्तोष क्षेत्रीले बताएका छन्। प्रदर्शनी जेठ २६ गते शनिवारसम्म संचालन हुने आयोजक ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसले जनाएको छ।

Photo By-Budha Sharan Shahi

प्रकाशन मिति–२०७५ साल जेठ १८ गते शुक्रबार ।