काठमाडौं। पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ। गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५ हजार ५४६ पुगेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको हो। सो रकम दर्शनार्थीले भेटीस्वरुप चढाएका हुन्।

पछिल्लो पाँच महिनाको भेटी रकम गणनापछि सोमबार पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुनचाँदी नापतौल गर्न भने बाँकी छ। पछिल्लो पाँच महीनामा मात्रै ५३ लाखबढी भेटी रकम जम्मा भएको छ।

हालसम्मको सबै रकम बैंकमा जम्मा गरिसकिएको छ। पछिल्लो एक वर्षको ८० क्विन्टल सिक्कासमेत सङ्कलन गरी सदरमुकाममा ल्याउने काम भइरहेको समितिका सदस्यसचिव उदय भट्टराईले भनेका छन्। ८५ हजार ३९० भारतीय रुपैयाँ सटही गर्न भने बाँकी रहेको पनि भनिएको छ ।
प्रकाशन मिति–२०७५ साल मंसिर २४ गते सोमवार ।