लण्डन। पासा पुचः गुठी यूके साउथ इष्ट लण्डन शाखाको नयाँ कार्यसमिति निर्विरोध भएको छ। शाखाको नयाँ कार्यसमितिमा उम्मेदवारीका लागि निर्धारित समयभित्र अध्यक्षसहितका सबै पदमा एकल उम्मेदवारी परेकोले सिंगो समिति नै निर्विरोध बनेको हो।

निर्वाचन समितिले उपलब्ध गराएको जानकारीअनुसार शाखाको अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध बनेका छन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका उनले त्यसअघि संस्थाको कोषाध्यक्षका रुपमा पनि काम गरेका थिए। त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा मदनकुमार श्रेष्ठ, रिता श्रेष्ठ र विनोद चिपालु आएका छन् । मदनकुमार र रिता दुवै अहिलेको कार्यसमितिमा पनि उपाध्यक्ष छन् भने चिपालु सांस्कृतिक सचिवको भूमिकामा छन्।

वर्तमान कार्यसमितिका महासचिव नगेन्द्र श्रेष्ठ नयाँ कार्यसमितिमा पनि महासचिवमै निरन्तर हुने भएका छन् । नयाँ कार्यसमितिको कोषाध्यक्षमा सोनी श्रेष्ठ, सांस्कृतिक सचिवमा सत्यप्रसाद प्रजापति, सचिवमा भिमलक्ष्मी शाक्य, सह–कोषाध्यक्षमा दानमाया महर्जन र सांस्कृतिक सह–सचिवमा सिरज श्रेष्ठ निर्विरोध भएका छन्। समितिको सदस्यमा कृष्ण वैद्य, ईश्वर महर्जन, नीर महर्जन, सुमन महर्जन, आशिष श्रेष्ठ, मंगेश श्रेष्ठ, राज श्रेष्ठ र मिल्शान्त चिपालु पनि निर्विरोध भएका छन्।

यही जनवरी २४ तारिख आइतबार तय शाखाको अधिवशेनमा नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ। उम्मेद्वारको नाममा दावी विरोधका लागि निर्धारित जनवरी १८ को साँझ ५ बजेपछि नयाँ कार्यसमितिको पूर्ण टुंगो लाग्नेछ। नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ। कार्यसमितिको निर्वाचनका लागि शाखाका संस्थापक कुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्धय चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

नयाँ कार्यसमितिको चयनसंगै शाखाका वर्तमान अध्यक्ष सुशिल प्रजापतिले दुई कार्यकाल सम्हालेको नेतृत्वको भारी बिसाउँदैछन्। ‘नयाँ टीमलाई नेतृत्व हस्तान्तरण गर्न म निकै उत्साहित छु । अनुभवी र क्षमतावान साथीहरुको उर्जाशिल टीम बनेको छ’, अध्यक्ष प्रजापतिले भने, ‘हामीले नयाँ पुस्तालाई पनि समेट्ने प्रयासस्वरुप अबको कार्यसमितिमा बेलायतमै जन्मे हुर्केका केही तन्नेरीहरु पनि ल्याउन सफल भएका छौं। दीर्घकालीन रुपमा संस्था र संस्थाको अभियान अघि बढाउन नयाँ पुस्ताको सहभागिताले ठूलो भूमिका खेल्नेछ भन्ने हामीलाई विश्वास छ।’

पासा पुचः गुठी साउथ इष्ट लण्डनले नेवारी चाडपर्व, खाना, बाजा लगायतका मौलिक परम्परा र संस्कृति जगेर्नाको लक्ष्य राखेर नियमित कार्यक्रमहरु गर्दै आएको छ। बेलायतमै हुर्किंदै गरेका नयाँ पुस्ताका बालबालिका र किशोरकिशोरीलाई समेत मौलिक बाजा, नृत्य आदि सिकाउने काम संस्थाले गर्ने गरेको छ।
प्रकाशन मिति–२०७७ साल माघ ४ गते आइतवार ।