काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंको अवसरमा शुभकामना दिएका छन्। शुभकामना सन्देशमा ज्ञानेन्द्र शाहले राष्ट्रको विधि–विधान, व्यवस्था र बन्दोबस्त सर्वग्राह्य बन्नुपर्ने बताएका छन्। पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा भलो नहुने ज्ञानेन्द्रको भनाइ छ।


ज्ञानेन्द्रले भनेका छन्–‘एकले अर्कोमाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमी–कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनैपनि अर्थमा राम्रो होइन ।’ नेपाली सबैको उद्देश्य हाम्रो पूरै देशको उन्नतिबाहेक अरु केही हुन नहुने उनले उल्लेख गरेका छन् ।नेपाल आफैं उत्पीडन र आतंकको नभइ बुद्धि र भाइचाराको ‘स्मारक’ बन्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

‘राष्ट्रियता धर्मराएको, शान्ति–अमनचयन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्र–भित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन’–सन्देशमा उनले लेखेका छन्–‘प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्शबमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ।’

देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा बुझ्नुपर्ने’ औंल्याएका छन्।
प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।