काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएकी छन्। शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन्।

त्यसक्रममा हिमानीको स्वागत गर्न बसेका सर्वसाधारणको भीड छिचोल्न स्वयंसेवकहरुलाई पनि हम्मे–हम्मे परेको थियो। हिमानीले कमलपोखरी पछि नजिकै रहेको नक्सालको नागपोखरीको पनि परिक्रमा गरी सर्वसाधारणसँग भलाकुसारी गरेकी थिइन् । हिमानीलाई माया गर्नेहरुको असाध्यै भीड नै लागेको थियो।

त्यसैगरेर, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि काठमाडौंको कमलपोखरी पुगेर छठ पर्वको अवसरमा अस्ताउंदो सूर्यलाई अर्घ दिएर छठीमाताको पूजाआजा गरेकी छन्। त्यसको अलावा राष्ट्रपति भण्डारी गृहेश्वरी स्थित बागमती घाटमा पनि छठीमाताको पूजाआजा गरेर उदाउंदो सूर्यलाई अर्घ दिएकी थिइन्।

राष्ट्रपतिको सवारी कमलपोखरी र बागमतीघाटमा हुंदा सडकमा सवारी चालक तथा यात्रीहरुले अनावश्यक दुःख पाएका थिए। सुरक्षाको नाममा अनावश्यक सडक बन्द गर्दा सर्वसाधारणले दुःख पाउंदै आएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक १६ गते शनिवार ।