काठमाडौं। नेपाल सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खन्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत जनाएका छन्।

पदमुक्त हुनेहरुमा प्रदेश नम्बर–१ का प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर–२ प्रमुख रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर–३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश नम्बर–५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते उनीहरुलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।
प्रकाशन मिति–२०७६ साल कात्तिक १७ गते आइतवार ।