काठमाडौं। विहीवारदेखि अविरल बर्षाका कारण देशभर नदीनालामा बहाबमा बृद्धि भएको छ। यसैक्रममा पूर्वीनेपालको सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ। शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो।

पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले कान्तिपुर दैनिकको अनलाइन संस्करणलाई बताएका छन्।

प्रहरी निरीक्षक खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ। सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको छ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ। ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो।

कोसीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको मेयर शैलेशकुमार साहले भनेका छन्।

यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताएका छन्।
प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।