Mini Saarc in Pokhara

पोखरा । पहिलोपल्ट काठमाडौ बाहिर अन्तरराष्ट्रिय सम्मेलन तथा कार्यक्रमको शुरुवात गर्ने कार्य नेपाल सरकारले गरेको छ। यसक्रममा पोखरामा मिनी सार्क सम्मेलन शुरु गरिएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औ विदेश मन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको ग्रान्ड होटलमा विहीवार उद्घाटन गरेका छन्। नेपालको राष्ट्रिय गीत बजाएर पोखरामा मिनी सार्क शुरु गरेको थियो। जसमा सार्कका महासचिव अर्जुनबहादुर थापाले मन्तव्य व्यक्त गर्दै सार्क मुलुकलाई एकताको सूत्रमा आवद्ध गर्न सार्क क्रियाशील रहेको बताएका थिए।

बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी छन्। बैठकको उद्घाटन समारोहमा नेपालको मन्त्रिपरिषद्का वरिष्ठ सदस्य, सांसद, आठवटै सदस्य मुलुकका परराष्ट्र एव‌ं बाह्य मामिला मन्त्रालयका सचिव तथा उच्चपदस्थ अधिकारी उपस्थित छन्।

Mini Saarc in Pokhara 1

३७ औं मन्त्रिस्तरिय बैठकको अध्यक्षता नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले गर्दै स्वागत मन्तव्य व्यक्त दिएका थिए । मन्तव्यमा उनले जल, स्थल र वायु मार्गबाट सार्क सदस्य देशलाई जोडेर व्यापार विस्तारलगायत आर्थिक उन्नतिका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए । बुधबार सम्पन्न सार्क स्थायी समिति बैठकले मन्त्रिस्तरिय बैठकमा प्रस्तुत गरिने कार्यसूची निर्धारण गरेको थियो ।

बुधबार निर्धारण भएका कार्यसूचीमा सार्कले विगतमा गरेका निर्णयको कार्यान्वयन सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयन नगरेका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि पूरा हुनुपर्नेलगायत छन् ।
स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ भने १९औँ शिखर सम्मेलन आगामी नोभेम्बरमा पाकिस्तानमा गर्ने प्रस्ताव भएको छ। बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषय केन्द्रित रहेका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।