काठमाडौ। जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो पल्ट पोखरामा कालोझण्डा देखाइएको छ। पोखरामा प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसको भातृसंगठन नेवि संघका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध जनाएका हुन्। त्यसरी विरोध जनाउनेहरु पोखरामा पक्राउ गरिएको छ।

३० जना नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका छन्। डा.गोविन्द केसीको मागमा सरकार उदासीन रहेको भन्दै सरकारको आलोचना गर्दै आएको कांग्रेसको भातृसंगठन नेविसंघले विहीबार पोखरा पुगेका ओलीलाई कालो झण्डा देखाएका हुन्।

कांग्रेसले पछिल्लो समय सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको र गैरजिम्मेवार देखिएको भन्दै आफ्ना भातृसंगठनहरुलाई आन्दोलन सशक्त बनाउनका लागि निर्देशन दिएसँगै विहीबार प्रधानमन्त्रीमाथि कालो झण्डा देखाइएको हो।

कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध साउन ३ गतेदेखि आन्दोलन गर्ने जनाएको थियो।
प्रकाशन मिति–२०७५ साल साउन ३ गते विहीवार ।