काठमाडौं। राजतन्त्र सदाको लागि अन्त गर्न तत्कालिन माओवादी र संसदवादी राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउन निर्णायक भूमिका खेलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्रज नेता नारायणकाजी श्रेष्ठ र पूर्वराजा ज्ञानेन्द्र शाहवीच भेटवार्ता भएको छ। विहीवार  पोखरा विमानस्थल कक्षमा नारायणकाजी र ज्ञानेन्द्रवीच भेटवार्ता भएको हो।

पोखराको कार्यक्रम सकाएर पोखराको विमानस्थल प्रयोग गरेर काठमाडौं फर्कन लागेका नेता नारायणकाजीको ज्ञानेन्द्रसंग त्यहाँ संयोगबशःभेटवार्ता भएको थियो। नारायणकाजीलाई पोखरा विमानस्थलमा पोखरामा जाडोको मिनपचास मनाउन बसेका ज्ञानेन्द्र काठमाडौंवाट आउन लागेकी बुहारी हिमानीलाई पिकअप गर्न जाने क्रममा भेटेको समाचार स्रोतले बताएको छ।

भेटका क्रममा ज्ञानेन्द्रले नै नारायणकाजी श्रेष्ठलाई पहिला
नमस्कार गर्दै कुराकानी शुरु भएको समाचार स्रोतको भनाई रहेको छ। ‘तपाईंका चाखलाग्दा कुरा सुनिरहेको छु, पढिरहेको छु’, अलिकति व्यंग्य मिश्रित तरिकाले नारायणकाजी श्रेष्ठले कुराकानीलाई अघि बढाए, ‘तपाईंका अभिव्यक्ति सुनिरहेको हुन्छु, वक्तव्यपनि चाख दिएर पढिरहेको हुन्छु।’

श्रेष्ठका भनाईको जवाफ पूर्वराजाले पनि थोरै व्यंग्य मिसाउँदै दिए। ‘के गरौँ, देशको माया लाग्छ, देशप्रेम गएको छैन, त्यसैले सन्दर्भ आउँदा बोलिरहेको हुन्छु’, श्रेष्ठलाई पूर्वराजाको जवाफ थियो, ‘तर बोलेपनि, नबोलेपनि सुख छैन। नबोल्दा ‘यो किन चुप छ भन्दै शंका व्यक्त गर्छन्, बोल्यो, गाली गर्छन्, यहाँ यस्तै छ।’

पूर्वराजा ज्ञानेन्द्र र नेता नारायणकाजी श्रेष्ठ वीच करिब आधा घण्टा कुरा भएको थियो। पूर्व युवराज्ञी हिमानी शाह काठमाडौंवाट पोखरा विमानस्थलमा उत्रेपछि ज्ञानेन्द्रले नै नारायणकाजीलाई परिचय गराएका थिए। हिमानीसंग पनि नारायकाजीको पाँच मिनेट जति कुराकानी भएको समाचार स्रोतले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल पुष १२ गते विहीवार ।