काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ म्याग्दी पुगेका छन्। प्रचण्ड पत्नी सीता दाहालको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड मंगलबार त्यहाँ पुगेका हुन्। बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी सीता दाहाललाई उपचार गराउन त्यहाँ लगिएको हो।

प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीता दाहालको उपचार गराउन शुरु गरिएको छ। सीता दाहाललाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो। तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि त्यहाँ लगिएको प्रचण्डका निजी सचिव जोगबहादुर महराले विभिन्न समाचार माध्यमलाई बताएका छन्।


पहिलो दिन सीता दाहालसहितको टोलीले तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ। बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको जनाइएको छ।

नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहने भनिएको छ। बेनी पुग्ने टोलीमा गृहमन्त्री बादल र बादलकी पत्नी नैनकला थापा, अध्यक्ष प्रचण्डकी सुपुत्री गङ्गा दाहाल लगायत सहभागी छन्।

प्रकाशन मिति–२०७५ साल कात्तिक २७ गते मंगलवार ।