काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ। संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो।

सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराएका थिए। सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका थिए।

उम्मेदवारी दर्तापछि सापकोटाले प्रतिनिधिसभाको गरिमा र मर्यादा उच्च राख्न भगिरथ प्रयास गर्ने प्रतिक्रिया दिएका छन्। एकजनाको मात्रै उम्मेदवारी परेसँगै अग्निप्रसाद सापकोटा निर्विरोध सभामुखमा चयन भएका छन्।

तर, अर्को उम्मेदवारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ। सभामुख चयनको औपचारिक घोषणा भने यही माघ १२ गते अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले गर्ने भएको छ।
प्रकाशन मिति–२०७६ साल माघ ७ गते मंगलवार ।