काठमाडौं। रोशनी शाही बलात्कार काण्डवाट सभामुख जस्तो गरिमामय पदवाट कृष्णवहादुर महराले हात धुन बाध्य बनेका थिए। महराको राजिनामा पछि लामो समयदेखि रिक्त रहेको सभामुखको दावेदारी गर्दैआएकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङफेले पनि सोमवार राजिनामा दिएकी छन्।

सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वमाओवादी पक्षधर अग्नि सापकोटालाई सभामुख पदको उम्मेदवारको रुपमा अगाडि सारेपछि उपसभामुख डाक्टर तुम्बाहाङफेले राजिनामा दिएकी हुन्। पार्टीलाइनवाट नै अग्नि सापकोटालाई सर्वसम्मत सभामुख बनाउने प्रयास हुने भएपछि एउटै पार्टीका सभामुख र उपसभामुख हुन नहुने नियमानुसार डाक्टर तुम्बाहाङफेले राजिनामा दिनु स्वभाविक हो।

त्यसको मतलव डाक्टर तुम्बाहाङफे अयोग्य भने अवश्य होइन। हरेक कोणवाट सुयोग्य रहेतापनि राजिनामा दिएर जाँदा–जाँदै डाक्टर तुम्बाहाङफेले पितृसत्तासँग लड्न नसकेको र यो राजसंस्थाभन्दा पनि जटिल रहेको बताएकी छन्। संसद भवन नयाँबानेश्वरमा पदबाट राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा डाक्टर तुम्बाहाङफेले कठोरतापूर्वक गाडिएको पितृसत्ताको जरा उखेल्न सबै एकजुट हुनुपर्ने बताइन्। यद्यपि, डाक्टर तुम्बाहाङफेले आफूले लडाई जितेको प्रतिक्रिया दिइन् ।

डाक्टर तुम्बाहाङफेले प्रतिनिधि सभाको गरिमा जोगाउन लडाईं लडेको र त्यसमा बाजी मारेको जिकीर गरेकी हुन्। प्रतिनिधि सभालाई नेतृत्वविहीन बनाउन नदिने आफ्नो मान्यता एवं प्रतिनिधि सभा र संविधानको इज्जत जोगाउन नेपाल कम्युनिष्ट पार्टीको निर्देशन नमानेको तर्क डाक्टर तुम्बाहाङफेले गरिन्। उपसभामुखको पाँच वर्षे कार्यकाल दुई बर्षमै छाड्न बाध्य पारिए पनि आफू खुशी नै रहेको डाक्टर तुम्बाहाङफेले बताइन् । डाक्टर तुम्बाहाङफेले अब देश र जनताका लागि पृथक भूमिकामा रहेर काम गर्ने बताइन्।
प्रकाशन मिति–२०७६ साल माघ ६ गते सोमवार ।