काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार हुदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ। काठमाडौ महाराजगञ्ज स्थित त्रिविवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो।

यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो। यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ। अस्पतालका निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठका अनुसार, नागरिक सरह प्रधानमन्त्री ओलीसंग उपचार शुल्क लिइएको हो।

उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुशी भएका छन् । अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रम ओलीले अस्पतालका चिकित्सकलाई धन्यवादसमेत दिए। उनी निस्किदै गर्दा भने, ‘यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु। म ठीक भएर फर्केको छु।’
प्रकाशन मिति–२०७६ साल मंसीर १९ गते विहीवार ।