काठमाडौं। दुई वर्षसम्म राजनीतिक प्रतिबन्ध खेपेको नेत्रविक्रम चन्द विप्लब समूहको नेपाल कम्युनिस्ट पार्टी शुक्रबारदेखि खुला राजनीतिमा आएको छ। वर्तमान सरकारले नै २०७५ फागुन २८ गते विप्लवको दलमाथि प्रतिबन्ध लगाएकोमा विहीवारवाट हटाएपछि विप्लव खुला राजनीतिमा आएको हो।

शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित तीन बुँदे सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा आयोजित सार्वजनिक समारोहवाट विप्लब खुल्ला रुपमा देखा परेका हुन। सार्वजनिक रुपमा विप्लब खुलेपछि विप्लबको राजनीतिक यात्रा अव शान्तिपूर्ण ढंगले हुने भएको छ।

भूमिगत अवस्थामा पनि विप्लव समूहले कतिपय क्षेत्रमा गैरराजनीतिक घटना घटायो। सरकारका तर्फबाट पनि सो समूहका नेतामाथिको धरपकड बढाइएको थियो। विप्लवबाहेकका दोस्रो तहका अन्य नेताहरु धमाधम पक्राउ परेका थिए। यसअघि सांसद सोमप्रसाद पाण्डेयको नेतृत्वमा गठन गरेको वार्ता समितिसँग कुरा गर्न अनिच्छुक रहेको विप्लव समूह पछिल्लो समयमा वार्ताका लागि सकारात्मक बनेको थियो।

यही साता लगातार रुपमा भएको सरकारी वार्ता टोली र विप्लव समूहबीचको वार्तामा सहमति भएसँगै बिहीबार सो समूहमाथिको प्रतिबन्ध पनि हटाइएको थियो। सोसँगै विप्लव नवलपरासीवाट सार्वजनिक भएर काठमाडौँ आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च सेयर गरे।

खुला राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग मञ्च सेयर गरेर आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले सहमति पालना गर्ने प्रतिवद्धता जनाएका हुन। महासचिव विप्लवले भने ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं ।’

विप्लवले शहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताए । ‘शहिदको चाहना जनताको चाहना पूरा भएको छैन,’ उनको भनाइ थियो, ‘जीवनदान गर्छौं, शहिदको सपना पूरा गरेर छाड्छौं ।’

विप्लवले राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजाने बताएका छन्। महासचिव विप्लवले नेपालका कम्युनिस्टहरु शान्तिका दूत पनि भएको उल्लेख गरे । ‘हामी कम्युनिस्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्,’ विप्लवले भनेका छन्।
प्रकाशन मिति–२०७७ साल फागुन २१ गते शुक्रवार ।