काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको नाममा रहने फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्ने ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने फैसला गरेको हो।

 

निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।

निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले सर्वोच्चमा दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्युँताइदिएको हो ।

सर्वोच्चले फैसलामा भनेको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ ।’

सर्वोच्च अदालतको यो फैसलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छनभने, नेकपाका अध्यक्ष प्रचण्डले अध्ययन गरेपछि मात्र यस वारेमा प्रतिक्रिया दिने वताएका छन्।


प्रकाशन मिति–२०७७ साल फागुन २३ गते आइतवार ।