हेटौंडा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बन्दका क्रममा मकवानपुरमा दुई वटा गाडीमा आगजनी गरेको छ। इमेज खवरका अनुसार, बन्दको अवज्ञा गरेको भन्दै चन्द समूहका कार्यकर्ताले हेटौंडा–नारायणगढ सडक खण्डको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना. ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डको हुमानेभन्ज्याङमा बा. १४ च ८२३५ नं को कारमा आगजनी गरेका हुन्।


आगजनीका कारण कार पूर्णरुपमा क्षति भएको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
त्यसैगरी चन्द समूहका कार्यकर्ताले हेटौंको थानाभर्‍याङ, चौकीटोल, हुप्राचौरको क्विक ट्वेन्टीफोर होटल नजिक राखेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ।

वडा कार्यालयमा अपरिचित मानिसको समूहले गएराति आगजनी गरेको हो। आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा पनि गएराति बम विस्फोट भएको छ। विस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ।

यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटार वडा कार्यालयमा पनि आगजनी भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले नलिए पनि प्रहरीले चन्द समूहका कार्यकर्ताको संलग्नता हुनसक्ने आशंका गरेको छ।
प्रकाशन मिति–२०७६ साल साउन १५ गते बुधवार ।