ललितपुर। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ आइतबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ। मीननाथको रथ पनि गाःबहालबाट तानेर पुल्चोक ल्याइएको छ।

अब भाद्र २२ गते सोमबार पाटनबासीले भुःज्या (रातो मच्छेन्द्रनाथ रथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा भाद्र २६ गते मच्छेन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती पुर्‍याइनेछ।

साइत जुरेकै दिन मीननाथको रथ पनि पुल्चोकबाट तानेर टंगल टोलस्थित मन्दिरमा पुर्‍याइनेछ। रातो मच्छेन्द्रनाथको रथ यात्राका संवन्धमा अनेक अन्यौलता कायम भएपछि विहीवार युवाहरु र प्रहरी वीच झडप भएपछि व्यापक सुरक्षाका साथ रथयात्रा गरिएको जनाइएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।