काठमाडौं। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने सफलता जो बाइडेनलाई मिलेको छ। बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति निर्वाचनमा शानदार पराजित गरेर बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्न सफल भएको हो। अमेरिकाको राष्ट्रपति बन्ने सपना जो बाइडन ३२ वर्ष अगाडि नै देखेका थिए।

त्यो बेला देखेको सपना ३२ बर्षपछि भएपनि ७७ बर्षको उमेरमा सफलता हासिल गरेका छन्। त्यसमाथि बाइडेनले २८ वर्षपछि बहालवाला राष्ट्रपतिलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने अवसरलाई छेकेर राष्ट्रपति बन्ने भाग्यमानी राष्ट्रपतिका रुपमा पनि बाइडनलाई लिइएको छ।

आप्रवासीहरुप्रति चार वर्षे ट्रम्प प्रशासनले मच्चाएको ताण्डवलाई शान्त पार्दै उनीहरुसमेतको विश्वासमा मुलुकलाई एक बनाएर अगाडि बढाउने नेतृत्व गर्ने जिम्मेवारी सात करोडभन्दा बढी अमेरिकीले ७७ वर्षीय बाइडेनको काँधमा हालिदिएका छन्। ट्रम्पको कार्यकालमा विश्वस्तरमा खुम्चिएको अमेरिकी प्रभाव विस्तारदेखि बेरोजगार बनेका लाखौं अमेरिकन युवाको आशा बाइडनमाथि नै आएर अडिएको छ ।

सन् १९४२ नोभेम्बर २० मा अमेरिकाको पेन्सिलभानियामा जन्मेका जोशेफ रोबिनेट बाइडनको लामो राजनीतिक यात्रा रहेको छ तेस्रो पटकको प्रयासमा अमेरिकी राष्ट्रपति बन्दै ह्वाइट हाउस प्रवेश गर्ने ढोका खोलेका बाइडन, यसअघि सन् २००९ देखि २०१७ जुन २० सम्म आठ वर्ष बाराक ओबामाको राष्ट्रपतिकालमा उपराष्ट्रपति रहेका थिए।
सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावरबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गरेका बाइडन उपराष्ट्रपति बनेर ह्वाइट हाउस नछिर्दासम्म लगातार ३६ वर्षसम्म त्यहाँबाट सिनेटमा प्रतिनिधित्व गरिरहेका थिए।

सन् १९७० देखि राजनीतिक जीवनको यात्रा थालेका बाइडन पाँच दशकदेखि अमेरिकी राजनीतिका दीर्घ सेवक हुन्। ओबामा कार्यकालमा ४७ औं उपराष्ट्रपति बनेर ८ वर्ष अमेरिकी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षतासमेत गरेका थिए।
पत्नी र छोरीलाई कार दुर्घटनामा गुमाउनु परेका बाइडनले सोही दुर्घटनामा घाइते अर्का एक छोरालाई भने ब्रेन ट्युमरका कारण गुमाउनु परेको छ ।

बाइडेनले पहिली पत्नी नेलिया हन्टरको मृत्यपछि जिलसँग दोश्रो विवाह गरेका हुन्। अमेरिकाको डेलावयरबाट उच्च शिक्षा हासिल गरेका बाइडन राजनीति शास्त्र र कानूनका विद्यार्थी रहेका थिए। बाइडनले सन् १९७१ मा अमेरिकाका विल्मिङटनको ल फर्म समेत सञ्चालन गरेका थिए।


प्रकाशन मिति–२०७७ साल कात्तिक २३ गते आइतवार ।