लण्डन। विश्वको अत्यन्त लोकप्रिय सामाजिक सन्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अंकमा पूर्णपृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्यांक सार्वजनिक भएकोप्रति क्षमायाचना गरेका छन् । ‘फेसबुकमा आएको तपाइँको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ। यदि यो गर्न सक्दैनौं भने हामी योग्य हुन सक्दैनौं’–विज्ञापनमा भनिएको छ।

‘सन् २०१४ मा फेसबुकका लाखौं प्रयोगकर्ताको तथ्यांक चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले उक्त विज्ञापनमा स्वीकार गरेका छन् । उनले भनेका छन्–‘यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही गर्न नसकेकोमा म क्षमायाचना गर्न चाहन्छु । हामीबाट यस किसिमको गल्ती पुनः हुने छैन भन्ने निश्चित गर्न आवश्यक कदम चालिसकिएको जानकारी गराउन चाहन्छु ।’

बेलायती राष्ट्रिय पत्रपत्रिकामा छापिएको उक्त विषय युरोप, अमेरिकालगायतका क्षेत्रमा फेसबुकबाट भएको कमजोरीकाबारेमा अनुसन्धान थालिएपछि फेसबुकको सेयरमा आएको गिरावटसँगै जुकरवर्गद्वारा गत हप्ता सार्वजनिकरूपमा दिएका अभिव्यक्तिसँग मेल खानेखालका छन् ।

जुकरबर्गले भनेका छन्–‘अहिले फेसबुकले नियम परिवर्तन गरिसकेको छ, त्यसैले अब यस्ता गल्ती भविष्यमा हुने छैनन् ।’
उनले लेखेका छन्–‘हामीले यो समस्या समाधान हुनुपूर्व ठूलो संख्याको तथ्यांकमा पहुँच राख्ने हरेक एपमाथि खोजी गरिरहेका छौं । जब हामी पत्ता लगाउने छौं, तिनीहरूमाथि रोक लगाउने छौं र प्रभावित सबैलाई जानकारी गराउने छौं ।’

प्रकाशन मिति–२०७४ साल चैत्र ११ गते आइतवार ।