Mark-Lancasterकाठमाडौ । बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । रक्षामन्त्री ल्यानक्यास्टर नेपालको ५ दिने भ्रमणका लागि सोमबार ६ फरवरीमा आउने तयारी हुंदै गर्दा अन्तिम समयमा स्थगित भएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ।

बेलायती संसदमा जारी इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) को बहसमा व्यस्त हुनुपरेको जनाउँदै ल्यानक्यास्टरले तत्काललाई भ्रमण स्थगित गर्नुपरेको लन्डनस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

मन्त्री ल्यानक्यास्टरको भ्रमण स्थगित भएपनि ब्रिगेडिएर जनरल निक पोप, ब्रिगेड अफ गोर्खाज कर्णेल जेम्स रविन्सन लगायतको टोली भने नेपाल आउने भएको छ। नेपाल भ्रमणका क्रममा टोलीले राष्ट्रपतिसमक्ष गोर्खा ब्रिगेडको प्रतिवेदन बुझाउने, ब्रिटिश क्याम्प भ्रमण, भूपू गोर्खा परिवारको अवस्था बुझ्ने आदि कार्यक्रम रहेको छ ।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।