लण्डन। कोरोना महामारीको नयाँ संक्रमणको व्यापक चपेटामा बेलायत परेको छ। कोरोना महामारीको नयाँ संक्रमणवाट बच्न तथा बचाउन बेलायत सरकारले बेलायतमा कडा लकडाउन गरेको हो।

बेलायतमा जारी कडा लकडाउनले बेलायतमा रहेका नेपालीहरुलाई पनि प्रभावित बनेका छन्। यो संकटको अवस्थामा बेलायतमा रहेका नेपालीहरु सहयोगी बन्ने कार्यमा अग्रपंक्तीमा देखिएका छन्। यसक्रममा लण्डनको साउथ इस्ट स्थित प्लमस्टिटमा रहेको नेपाली ख्यातिप्राप्त अभिनेता मनिष कुमार श्रेष्ठले सञ्चालन गर्दैआएको गोर्खा क्लबले चरम व्यापार घाटालाई पनि बेवास्ता गर्दै मानविय कार्यमा निक्कै सहयोग गर्ने कार्य भएको छ।

कोरोनाका कारण आइसोलेसनमा रहेका परिवारलाई निःशुल्क राहत एवं खाना बाँड्ने अभियान शुरु गरेको छ। कोरोना संक्रमित तथा बृद्धबृद्धा र बिद्यार्थीहरुलाई घर घर गएर निःशुल्क खाद्यान्न एवम् पाकेका प्याकिङ खाना वितरण गरेर ठूलो पुण्य कमाउने कार्य गरेको छ। गोर्खा क्लबको यो पुण्य कार्यले शुक्रवार नवौं दिनसम्म पुग्दा सयौंले लाभ लिइसकेका छन्।

गोर्खा क्लबका अध्यक्ष तथा महाप्रवन्धक मनिष कुमार श्रेष्ठका अनुसार, गोर्खा क्लबले एकदिनमा २० देखि ५० जनासम्मलाई निःशुल्क खाना ख्वाएको छ। खाद्यान्न जस्तै दाल चामल, तेल, नुन, आलु प्याज, लसुन, चिया चिनी, अन्डा, बिस्कुट, टोम्याटो क्यान, चाउचाउ, भुजा ट्वाइलेट पेपर रोल लगायत घर घरमै लगिदिने गरेको छ। गोर्खा क्लबले सेवा गरेका आइसोलेसनमा रहेका चार घर परिवार हाल कोरोना मुक्त पनि बनिसकेका छन्।

गोर्खा क्लबका अध्यक्ष तथा महाप्रवन्धक मनिष कुमार श्रेष्ठ एक्लै तथा परिवारजनवाट शुरु गरिएको यो अभियानको कन्सेप्टमा स्वतःस्फुर्त रुपमा सहयोग गर्नेहरुको लर्को नै लागेको छ। मनकारीहरुले खाद्यान्न सहयोग गर्ने गरेको र कतिपय क्लबमा नै आएर पकाउन समेत सहयोग गर्न आउने गरेको श्रेष्ठको भनाई छ। जिन्सी वाहेक नगद सहयोग स्वीकार नगरेको र राहत पाउनेहरुको फोटो खिचेर सार्वजनिक गर्ने कार्य पनि गोर्खा क्लबले नगरेको पनि श्रेष्ठले भनेका छन्।

हालसम्म जमघट परिवार यूके, इनास यूके, प्रतिभा नक्षत्र यूके, पासा पुचः गुठी साउथ इस्ट यूके लगायत कयौँ ब्यक्तिले सहयोग गरिसकेका छन्। यो अभियान लकडाउन अवधिभर सञ्चालन हुने जानकारी पनि श्रेष्ठले दिएका छन्।


प्रकाशन मिति–२०७७ साल माघ २ गते शुक्रवार ।