लन्डन । बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वार्षिकोत्सव भरचुअल मध्यमबाट भव्यरुपमा मनाएको छ।

बेलायतको लन्डनबाट परिषद्का सल्लाहकार कृष्ण भट्ट तथा यती संस्थाका सचिव जीत रानाभाट र नेपालको काठमाडौबाट नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछानेबाट संचालन गरिएको दुई दिने कार्यक्रमको पहिलो दिन आइतबारको समारोहलाई परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सुवेदीले लन्डनको नेपाली राजदूतावासबाट भर्चुअल संवोधन् गरेर उदघाटन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा.सुवेदीले परिषदको साहित्यिक प्रकाशन लालीगुराँस रजत स्मारिका, परिषद्का प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपाल पराजुलीको काव्य कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ , सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीत संग्रह र लेखक सुरेन्द्र नेपाल श्रेष्ठको मेरो आधा शताब्दी पुस्तकहरुको विमोचन गरेका थिए । कार्यक्रमा परिषद्का पूर्वअध्यक्ष हरिसिँह थापा र सल्लाहकार कृष्ण भट्टले रामायणका श्लोक वाचन गरेर आदिकवि भानुभक्तको सम्मान र सम्झना गरिएको थियो।

समारोहमा परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले बेलायतमा नेपाली साहित्य र नेपाली साहित्य विकास परिषद् यूके को भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा. राघव प्रसाद धिताल ओबिई, सभापतिको आसनबाट परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल, परिषद्को नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ साहित्यकार ईल्या भट्टराई, सल्लाहकार संयोजक तथा वरिस्ठ साहित्यकार गोपाल पराजुली, विशिष्ट सल्लाहकारहरू प्रा.डा.गोविन्द राज भट्टराई र डा माधवी भट्ट , विशिष्ट अतिथि प्रा.डा.खगेन्द्र प्रसाद लुइंटेल, परिषद्का पूर्वअध्यक्ष हरिसँह थापा, पूर्वअध्यक्ष खगेन्द्र नेपाली, महासचिव वीरेन्द्र कुवँर, नेपाल च्याप्टरका महासचिव कथा रेडियो नेपालका वरिष्ठ पत्रकार हरिशरण लामिछाने, सल्लाहकार कवि गीतकार घनबहादुर थापा र सहअध्यक्ष रेशम अर्याल लगायतका वक्ताहरूले अङ्ग्रेजी भाषा साहित्यको देशमा नेपाली भाषा साहित्यको खेती लगाउन लागिपरेको नेपाली साहित्य विकास परिषद् यूके को रजत उत्सव मनाउन पाउँदा सर्जकहरूमा थप उर्जा दिने कुरा चर्चा गरेका थिए।

कार्यक्रमको बीचबीचमा वरिष्ठ गायिका सीतु खरेल, गायकहरू सुमेर ज्ञवाली , प्रमोद शर्मा, मनोज अन्जान, डम्बरसिँह प्रयास र खेम गौतमले गीत सङ्गीत प्रस्तुत गर्दै किरण खरेल, नारायण गोपाल, झलकमान गन्धर्व लगायतका गीतहरू र राष्ट्रिय गीतहरू प्रस्तुत गरिएका थिए।

यसै समारोहबीच राजदूत डा.दुर्गाबहादुर सुवेदीले बेलायत स्थित नेपाली राजदूतावासको तर्फबाट परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाह, पूर्वअध्यक्ष हरिसिँह थापा , पूर्वअध्यक्ष खगेन्द्र नेपाली र वर्तमान अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ललाई बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र विकासमा उल्लेखनीय योगदान पुर्याए बापत ताम्रपत्र सहित विशिष्ट सम्मानको घोषणा पनि गरेका थिए।

उक्त समारोहमा महामहिम राजदूत डा.सुवेदीले सन् १९९५ मा बेलायत लन्डनमा स्थापना भएर सन् २०१४ मा नेपाल काठमाडौँमा च्यप्टर स्थापना भएदेखि सक्रियरूपले लागिपरेका सर्जक , पत्रकार तथा पदाधिकारीहरूगरी ९३ जना र गत वर्ष पुरस्कृत गरिएका दुई जना गरी जम्मा ९५ जना महानुभावहरूको पुरस्कार सम्मान सुशोभन घोषणा गरेका थिए।


प्रकाशन मिति–२०७७ साल असार ३० गते मंगलवार ।