लण्डन। बेलायतको संसद भवनअगाडि एकजना सवारीचालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको छ।

अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीले प्रत्यक्षदर्शीको हवाला दिदै बिहानको भीडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शंकास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको जनाएको छ।कार दुर्घटनामा केही व्यक्ति घाइते भएपनि जटिल अवस्थामा नरहेको बताइएको छ।

विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारी–साधनको प्रयोग गरी चारओटा आतंकवादी आक्रमण भइसकेका छन्। बेलायतको मुख्य प्रशासनिक इकाइसमेत रहेको मुख्य लण्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ। लण्डनको महानगरीय प्रहरीले प्रतिआतंकवाद कमान्डले घटनाको अनुसन्धान थालिसकेको जानकारी दिएको छ।

प्रहरीले आमसर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ। यही स्थानमा मार्च २०१७ मा पनि आतंकवादी हमला भएको थियो।
प्रकाशन मिति–२०७५ साल साउन २९ गते मंगलवार ।