लण्डन । बेलायतमा नेपाल र नेपाली कला–संस्कृति मज्जाले छाएको छ। आइतवार बेलायतमा आयोजित भव्य १२ औं संस्करणको नेपाल मेलामा नेपाल र नेपाली कला–संस्कृति मज्जाले छाएको हो। केम्पटन पार्क रेस कोर्स लण्डनमा नेपाल मेला संपन्न भएको छ । तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा १२ औं संस्करणको नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको हो।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी,गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान र्पुयाइरहेको बताए। उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले नेपाली मेला तमुधिं युकेको मात्र नभई युकेबासी सम्पूर्ण नेपालीवासीको साझा उत्सव रहेको बताए ।

तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन गरिएको थियो । बेलायतवाट निर्माण गरिएको अनि बेलायतमा नै छायांकन गरिएको बहुप्रतिक्षित चलचित्र कैदीको पत्र स्टल पनि व्यापक आकर्षणको केन्द्र बनेको थियो।

कैदीको पत्र स्टलमा पुगेर कैदीको पत्र वोकेर फोटो खिच्ने र कैदीको पत्र प्रदर्शनको सफलताको लागि शुभकामना दिनेहरुको भीड नै लागेको थियो। चलचित्र कैदीको पत्र बेलायतका ख्यातिप्राप्त नेपाली साहित्यकार ईश्वर मानन्धरको अमर कृतिमा आधारित फरक शैलीको बेग्लै चलचित्र रहेको जानकारी निर्देशक सनम कुमार बैरागले दिएका छन्। मेलामा कैदीको पत्रलाई यति धेरै माया तथा स्नेह प्रदान गरिएकोमा निर्देशक बैरागले सवैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए ।

मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए । तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष नेपाल मेलाको आयोजना गर्दैआएको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र १४ गते सोमवार ।