लण्डन। बेलायतका राजकुमार ह्यारीको विवाह संपन्न भएको छ। शनिबार अमेरिकी अभिनेत्री मेगन मार्कलसँग ह्यारीको विवाह भएको हो। राजधानी लण्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल दरबारको सेन्ट जोर्जेज च्यापलमा आयोजित वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना माझ ह्यारीको विवाह भएको हो।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औंठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिसप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाकारूपमा लिइएको छ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए। यसैगरी, ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुगेका थिए।

ह्यारी र मेगन सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। राजगद्दीको उत्तराधिकारीको पाँचौं रोलक्रममा रहेका राजकुमार ह्यारीको प्रेमीजोडीलाई गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिकरुपमा देखिएको थियो।


प्रकाशन मिति–२०७५ साल जेठ ५ गते शनिवार ।