काठमाडौं। सामाजिक, भाषिक, सांस्कृतिक, नाटक, रङ्गमञ्च, शैक्षिक तथा बौद्धिक आन्दोलनका अग्रज प्रेमपूर्ण कर्माचार्यको वार्षिक पुण्य तिथिमा कर्माचार्यकै स्मृतिमा पुस्तक प्रकाशन भएको छ।

बुधबार काठमाडौंको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण भएको हो। स्वर्गवासी प्रेमपूर्ण कर्माचार्यको स्मृतिमा समर्पित विभिन्न क्षेत्रबाट परिचित व्यक्तित्वहरुले तयार गरिएको लेखहरुको सँगालो ‘जिं म्हस्यूम्ह’ (मैले चिनेको) नामक पुस्तक नेपाल भिक्षु महासँघका संघ उपनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरले लोकार्पण गरेका हुन्।

स्वर्गवासी कर्माचार्यको पत्नी सानुमैया कर्माचार्यको सभापतित्वमा भगवान श्रेष्ठले सञ्चालन गरिएको कार्यक्रममा कर्माचार्यले विभिन्न क्षेत्रमा गरेको योगदानको स्मरण गर्ने कार्य भएको छ।

नेपालभाषाका अग्रज स्रष्टा मल्ल के सुन्दर, नेपालभाषा परिषदका अध्यक्ष प्रा. सुवर्ण शाक्य, अनागारिका श्रद्धाचारी, समाजसेवी हितकर वीर कंसाकार, नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठ, लक्ष्मण राजवंशी, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, शताब्दी पुरुष सत्यमोहन जोशी लगायतले स्वर्गवासी कर्माचार्यको बारेमा चर्चा–परिचर्चा गरेका थिए।

सोही कार्यक्रममा विपन्न एवं पिछडिएको क्षेत्रका विद्यार्थी एवं अन्यलाई शैक्षिक, स्वास्थ्य एवं सीपमूलक रोजगारका साथै अन्य सहयोग उपलब्ध गराउनका लागि प्रेमपूर्ण–सानुमैया असहाय सेवा कोष’को औपचारिक प्रारम्भ भएको जानकारी प्रबन्धक प्रेमसागर कर्माचार्यले दिएका छन्।

कार्यक्रममा उक्त पुस्तक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने त्रिविवि नेपालभाषा केन्द्रीय विभागका राश जोशी, बरिष्ठ कवि तथा भजन गायक भृगुराम श्रेष्ठ, कलाकारहरु नारायण देवी श्रेष्ठ, शौभाग्यवति रञ्जित, डा. महेशमान श्रेष्ठ, गायक प्रेमध्वज प्रधान, बाल साहित्य लेखक शान्तदास मानन्धर, राजेन्द्र रञ्जितलगायत व्यक्तित्वहरुलाई सानुमैया कर्माचार्यले मायाको चिनो प्रदान गरेकी थिइन्।

प्रकाशन मिति–२०७४ साल चैत्र ८ गते विहीवार ।