भक्तपुर। कला र संस्कृतिको अनुपम नगरी तथा अपूर्व शहर नै मानिएको भक्तपुर नगर यतिखेर सञ्चार सेवाबाट विच्छेद भएको छ। भक्तपुरको सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व मनाउने भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगर सञ्चार सेवाबाट विच्छेद भएको हो।

राससका अनुसार, भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व व्यवस्थित गर्ने भन्दै गत शुक्रबारदेखि नेपाल टेलिकमको दुई हजार लाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्व पार्ने गरी तार काटेको नेपाल टेलिकमका कर्मचारी प्रकाश अधिकारीले बताएका छन्।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको निर्देशनमा भक्तपुर नगरपालिकाले टेलिफोनसँगै केबल टेलिभिजनका तीन हजार र अन्य इन्टरनेट सेवा प्रदायकका एक हजार तार काटेपछि भक्तपुर नगर क्षेत्र सञ्चारविहीन बनेको भक्तपुर नगरपालिका हो।

टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा अवरुद्ध भएपछि स्थानीयवासीले विरोध गर्दै तत्काल लाइन जडान गर्न माग गरेका छन् । मानवीय जीवनको अत्यावश्यक सेवाका रुपमा रहेको सञ्चारका सबै सुविधा काटिएपछि भक्तपुरका बासिन्दा समस्यामा परेको छ।

यसअघिका गाईजात्रा, बिस्केटलगायतका जात्रामा कुनै पनि सञ्चार सुविधा काट्ने नगरे पनि यस वर्ष भने भक्तपुर नगरपालिकाले सञ्चारका सबै लाइन काटेकोमा स्थानीय सवैको गुनासो रहेको छ। प्रजिअ भट्टले भने तीनवटै वडाका अध्यक्ष आएर तारका कारण गाईजात्रा सञ्चालन गर्न समस्या परेको भन्दै लाइन काट्न माग गरेपछि समिति बनाएर लाइन काटिएको बताए।

उनका अनुसार वडा अध्यक्षसहितको नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालयसमेत रहेको समिति बनाएर स्थलगत अध्ययन गरी गाईजात्रा सञ्चालन हुने मार्गमा समितिको निर्णयअनुसार लाइन काटिएको हो। गाईजात्रा सम्पन्न भएपछि काटिएका लाइन पुनः जडान गरिने उनको भनाइ छ।

प्रकाशन मिति–२०७५ साल भदौ १० गते आइतवार ।