काठमाडौं। काठमाडौं उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर प्रवेशमा कडाई गर्न माग गरेको छ। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा बसेको फोरमको बैठकले उक्त माग गरेको हो।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उपत्यका भित्रको जन–जीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भएपनि अत्यन्त कडाई गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय भएको वताएका छन्।

‘महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका कोणबाट जनजीवन असहज बन्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ,’ ‘मेयर महर्जनले भने, ‘भाद्र २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ ।’

फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका कारण उपाध्यक्ष महर्जनको अध्यक्षतामा फोरमको बैठक बसेको हो ।

 उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर–विजोर प्रणाली लागु गर्न आग्रह गर्ने निर्णय भएको फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन्।

मेयर श्रेष्ठका अनुसार,नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने–गराउने पनि निर्णय गरेको छ । उपत्यकाका १८ वटै नगरपालिकाले उपत्यकाका पछिल्लो निषेधाज्ञा अवधिमा करीब ३८ हजारको Contract Trashing गरेको छ। फोरमका सचिव श्रेष्ठले स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा आइसोलेसनका लागि १६ सय र क्वारेन्टिनका लागि १५ सय बेड निर्माण भैसकेको जानकारी दिएका छन्।

काठमाडौँ महानगरपालिकाले मात्रै निषेधाज्ञाको अवधिमा ७ हजार ५ सय बढीको Contract Trashing गरेको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले वताएकी छन्। उपमेयर श्रेष्ठले ७ हजार बढीको Contract Trashing  गर्दा ३ सय ४० लाई कोरोना पोजेटिभ देखिएको जानकारी पनि दिएकी छन्।

त्यसैगरेर, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा धारणा निर्माण गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी र तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल धिताल रहेका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र २३ गते मंगलवार ।