काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमण संपन्न गरिसकेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर, भारतको राजधानी नयाँ दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको अहिलेसम्म भ्रमण हुन सकिरहेको अवस्था भने छैन्।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको स्थापना सन् १९४८ मा नै भएको हो। तर, अहिलेसम्म त्यहाँ राष्ट्रपतिको भ्रमण हुन नसक्नुको पछाडि अमेरिकाको प्राथमिकतामा नेपाल नपरेर हो वा नेपालले पर्याप्त पहल नगरेर हो भन्ने गंभीर प्रश्न उठेको छ। यसैसन्दर्भमा बीबीसी नेपाली सेवाले केही परराष्ट्रमामिलाका जानकारहरूलाई प्रश्न गरेका थिए। जति रणनीतिक महत्त्वको भनिएपनि नेपाल आर्थिक र कूटनीतिक दुवै हिसाबले अमेरिकाको प्राथमिकतामा नपरेको बीबीसी नेपाली सेवालाई उनीहरूले बताएका छन्।

अमेरिकाका लागि नेपालका पूर्वराजदूत शङ्कर शर्मा अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण हुन नसक्नुका तीनवटा कारण देख्छन्। शर्माका अनुसार, पहिलो नेपालको मुद्दा बलियो छैन। अरू ठूला देशमा जस्तो हाम्रो अमेरिकासँग व्यापार लगानीको सम्बन्ध पनि छैन। हामी केवल आर्थिक सहायता मात्रै लिने मुलुक हौँ। दोश्रो कारणमा भ्रमणको व्यवस्थापन। उनीहरूको व्यवस्थापन चिनियाँ राष्ट्रपतिका लागि भन्दापनि फरक र विशेषखालको छ। तेस्रो कारण्मा उनीहरूका लागि नेपालको महत्त्व नै कम छ।

पूर्व परराष्ट्रसचिव मधुरमण आचार्य पनि नेपालको महत्त्व कम आँकिएकाले नै अमेरिकी राष्ट्रपति नेपाल नआएको ठान्छन्।
अमेरिकी राष्ट्रपति ल्याउने चाहना भए त्यसको पहल गर्नु अगाडि भ्रमणमा आउने राष्ट्रपतिको चासोको विषयलाई रणनीतिक रूपमा अध्ययन गर्नुपर्ने पूर्व राजदूत शर्माले बताए।

नेपालमा यसअघि अमेरिकाका उपराष्ट्रपति स्पाइरो एग्न्यू (सन् १९७०) र विदेशमन्त्री कोलीन पावेल (सन् २००२)ले भ्रमण गरेका भए पनि राष्ट्रपति स्तरको भ्रमण हुन सकेको छैन। सन् १९९५ मा प्रथम महिला हिलरी क्लिन्टनले आफ्नी छोरीसहित नेपालको भ्रमण गरेकी थिइन्। यसअघि आफू अमेरिकाका लागि राजदूत भएका बेला तत्कालीन राष्ट्रपति बराक ओबामालाई ल्याउनका लागि पहल गर्ने प्रयत्न गरेको पूर्व राजदूत शङ्कर शर्माले बताए। त्यतिबेला मैले पहल गरेको थिएँ तर हाम्रो त्यो तहको क्षमता नपुगेकोले फलिभूत हुन सकेन शर्माले भने।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे नेपालको भूराजनीतिक सम्वेदनशीलता पछिल्ला दिनमा अत्यन्तै बढेर गएको बताउँछन्। नेपाल केही वर्षदेखि भारत, चीन र अमेरिकाको सामरिक रेडारभित्र परिसकेको छ र त्यो ताप नेपालको राजनीतिले भोग्न थालिसकेको छ। त्यो सन्दर्भमा मोदी र ट्रम्पको वार्तामा नेपालको ध्यान केन्द्रित हुन्छ। एउटा छिमेकी देश पहिला नै महाशक्ति राष्ट्रको प्रतिस्पर्धी भइसकेको र अर्को हुने क्रममा रहेका बेला नेपाललाई हेर्ने अमेरिकी दृष्टिकोण फरक हुने उनले बताए।


प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।