चितवन। नौ जना नेपालीभाषी भुटानमा भएको निर्वाचनमा निर्वाचित बनेका छन्। भुटानमा बिहीवार सम्पन्न चुनावबाट नौ जना नेपालीभाषी सांसद निर्वाचित भएका हुन्। भुटानको नेशनल एसेम्ब्ली (संसद)को तल्लो सदनमा निर्वाचित भएका ४७ जनामध्ये नौ जना नेपाली भाषी छन्। नेपाली नौ जना नै भुटानमा चुनाव जितेर सरकार बनाउने तयारीमा रहेको नयाँ पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) बाट निर्वाचित भएका हुन्।

भुटानको निर्वाचन आयोगले आधिकारिक रुपमा जनाएअनुसार भुटानमा सांसद निर्वाचित भएका नेपाली भाषीमा जयबीर राई, हेमन्त गुरुङ, लोकनाथ शर्मा, गणेश घिमिरे, दिलमाया राई, दिनेशकुमार प्रधान, टेकबहादुर राई, विमल थापा र गर्जमान राई छन्। नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत हो।

हिमाली राज्य भुटानको ७ लाख ५८ हजार कुल जनसंख्यामध्ये सन् २०१७ को अन्तसम्मको तथ्याङकमा ३५ प्रतिशत ल्होत्साम्पा अर्थात नेपाली भाषी रहेको अन्तर्राष्ट्रिय अध्ययनहरूले जनाएका छन्। भुटानीहरु स्थानीय भाषामा नेपालीलाई ल्होत्साम्पा अर्थात ‘दक्षिणका बासिन्दा’ भन्छन्। सन् १९९० को दशकमा भुटानबाट एक लाख १५ हजार नेपाली भाषी विस्थापित भएर पूर्वी नेपालमा शरणार्थी बनेका थिए, जसमध्ये एक लाख भन्दा बढी तेस्रो मुलुकमा पुनस्थापित भैसकेका छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक ३ गते शनिवार ।