काठमाडौ। मध्यपुर थिमी नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठमाथि हमला भएको छ। दुईजनाले शनिबार मेयर श्रेष्ठलाई सांघातिक हमला गरेका छन्।

साँझ करिब ६ बजे मेयर श्रेष्ठको निवासअगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते मेयर श्रेष्ठले बताएका छन्। हमलापछि घाइते बनेका मेयर श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ। घाइते मेयरको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ।

हमलापछि मेयर श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए। त्यसपछि आक्रमणकारीले मेयर श्रेष्ठ चढेको बा८च ८७२० नम्बरको गाडीमा तोडफोड गरेर पूर्णरुपमा क्षति पुर्‍याएका छन्।

हमलाकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमीले जनाएको छ। हसमुख मेयर श्रेष्ठ माथि किन र के कारणले हमला भएको हो भन्ने कुरा खुल्न सकिएको छैन्।
प्रकाशन मिति–२०७५ साल बैशाख ८ गते शनिवार ।