काठमाडौं। मनको इच्छा पूरा गर्ने गोरखाको मनकामना मन्दिर नौ महिना पछि अव खुल्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको हो।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताएका छन्। हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन्। मन्दिरमा बिशेष पूजाआजा नहुने र पशुपन्छीको बलि पनि नचढाइने कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिएका छन्। मन्दिर र केवुलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको उनको भनाइ छ।

मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताएका छन्। ‘मर्मत संभारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवेयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उनले भने । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर ९एसओपी०’ निर्माण गरिएको उनले जानकारी दिए। उनका अनुसार केवुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ।

‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं,’ शेरचनले भने । केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने उनले बताए।
प्रकाशन मिति–२०७७ साल मंसीर २४ गते बुधवार ।