काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको २५औं बार्षिक उत्सव मनाउने भएको छ। यही मंसिर २८ र २९ गते दुई दिन भव्य रुपमा कार्यक्रम गरेर महानगर दिवसका रुपमा बार्षिक उत्सव मनाउन लागेको हो।

महानगरको सभा कक्षमा बसेको महानगर दिवस मूल समारोह समितिको बैठकले महानगर दिवस भव्य तथा सभ्य रुपमा मनाउने निर्णय गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले महानगरले आयोजना गर्ने दुई दिनको कार्यक्रमका अतिरिक्त वडा स्तरमा आयोजना हुने कार्यक्रमलाई महानगरको विशेष सहयोग हुने बताएका छन्।

महानगरवासी हुनुको गौरवता स्थानीयमा अनुभूत गराउन महानगर दिवसमा हुने भनाई मेयर शाक्यको छ। काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गी श्रेष्ठले महानगर दिवसका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाद्यबादन तथा प्रदर्शनीमा सिङ्गो महानगर क्षेत्रको सहभागिता हुने बताएकी छन्।

महानगर दिवसलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा नंबर ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा नंबर १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

महानगर दिवसमा ज्यापू समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६५ गुथि, गुँला बाजाका २३ वटा समूह, टोलमा राखिएका २ जना जीवित कुमारी र पुलुकिसी, दि प्याँख, लाखे, आकाश भैरव (सवः द्य) गरी ४ नाचसँग सम्बन्धित बाजा गुरुलाई सम्मान गरिने भएको छ। बसन्तपुरमा आयोजना हुने कार्यक्रममा महानगरले तयार पारेका शहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्विर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ। यसपटक व्यक्तिगत रुपमा नियमित कर तिर्ने करदातालाई प्राथमिकतासाथ खोजि गरेर सम्मान गरिने भएको छ।

त्यसैगरेर, विसं.२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। महानगर घोषणा भएको यस बर्ष २५ बर्ष भएको छ। यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन मेयर पि.एल.सिंहलाई भव्य सम्मान गरिने भएको छ। गत बर्ष काठमाडौंका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो।

त्यसको अलावा यो बर्ष पनि १० जना पत्रकारहरुलाई महानगर सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी काठमाडौं महानगरपालिकाका जन–संपर्क सल्लाहकार तथा अग्रज पत्रकार राजेन्द्र स्थापितले भिजन संसार डटकमलाई दिएका छन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २० गते शुक्रवार।