काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवसमा १० जना पत्रकारहरुलाई सुशासन पत्रकारिता पुरस्कारवाट सम्मानित गरेको छ। महानगर सुशासन पत्रकारिताको माध्यमवाट महानगरको विकास र प्रवद्र्धनमा सक्रिय योगदान दिने १० जना पत्रकारहरुलाई जनही नगद ५० हजारसहित सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

यो बर्षको सुशासन पत्रकारिता पुरस्कार २०७७ वाट नामी साप्ताहिकका सम्पादक तथा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतलाई सम्मानित गरिएको छ। त्यसैगरेर, नेवाःयुट्युबका अग्रज पत्रकार विजयरत्न तुलाधर, लहना साप्ताहिक तथा लहना न्यूज डटकमका कार्यकारी सम्पादक सुरेन्द्रभक्त श्रेष्ठ, न्यूज एजेन्सी नेपालबाट कृष्ण पौडेल, नयाँ पत्रिका दैनिकबाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहा खबरबाट अतिन आचार्य, खबर हब डटकमबाट सविना कार्की, कान्तिपुर टिभीबाट सिर्जना बाँस्तोला र नेपाल भाषा टाइम्स दैनिकलाई संस्थागत रुपमा सम्मानित गरिएको छ।

विसं २०५२ मंसीर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर काठमाडौं महानगरपालिकाले हरेक वर्ष मंसीर २९ गतेका दिन महानगर दिवस मनाउँदै आएको छ। यसैबर्षदेखि महानगरले मेयर्स अवार्ड सहित उत्कृष्ट जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पनि सुशासन पुरस्कार प्रदान गरिएको थियो। साथमा विगतमा जस्तै यो बर्ष पनि स्थानीय बाजाका गुरुहरुलाई पनि सम्मान प्रदान गर्ने कार्य भएको थियो।

प्रकाशन मिति–२०७७ साल मंसीर २९ गते सोमवार ।