काठमाडौं। कोरोना महामारीलाई रोक्ने पहिलो उपाय भनेको नै मास्क लगाउनु हो। कोरोनाको संक्रमण दिनानुदिन बृद्धि भैरहेको वर्तमान अवस्थामा राजधानी काठमाडौं लगायत उपत्यकामा मास्क नलाइकन निस्फिक्री आवत–जावत गर्नेहरुलाई प्रशासनले कडाइ गर्न थालेको छ।

मास्क नलाउनेहरुलाई विहीवारवाट अन द स्पट कारवाही गर्न थालेको हो। व्यापक सचेतना अभिबृद्धि गरिदैआएतापनि निस्फिक्री मास्क नलाइकन हिंड्ने प्रायलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १ सय रुपैया जरिवाना गरेर कारवाही गर्न थालिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा विहीवार अनुगमन गरेर अन द स्पट कारवाही गर्ने कार्य गरेको जनाएको छ।
सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, फुटपाथमा सर्वसाधारणहरुले मास्क लगाए नलगाएकोबारे निरीक्षण गरेको थियो ।

त्यसक्रममा मास्क नलगाई हिंडिरहेका र पसल व्यवसाय गरिरहेकाहरुलाई सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै सही तरीकाले मास्क नलगाउनेलाई सचेत गराइएको प्रशासनले जनाएको छ।
प्रकाशन मिति–२०७८ साल साउन २८ गते विहीवार ।