Mexico pradarshanकाठमाडौ । मेक्सिकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीति र सीमामा पर्खाल लगाउने योजना विरुद्ध दशौं हजार नागरिक सडकमा उत्रिएका छन्।

मेक्सिको स्थित अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार त्यहाँका दर्जनौं शहरमा भएको प्रदर्शनमा सेतो पोशाकधारी प्रदर्शनकारीले ट्रम्प विरोधी प्ले कार्ड बोकेका छन्। ट्रम्पको आप्रवासन नीति विश्व समुदायको लागि नै चुनौती भएको उनीहरुको भनाइ छ।

प्रदर्शनबाट ट्रम्पविरुद्ध मेक्सिको एक रहेको सन्देश प्रवाह गर्न चाहेको आयोजकको भनाइ छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको २ सय माइल लामो सीमामा पर्खाल लगाउने योजना चुनावी अभियानमै सुनाएका थिए।

प्रदर्शनकारीहरुले राष्ट्रपति इनरिक पेना नियटोले भ्रष्टाचार नियन्त्रण गर्न र हिंसा घटाउन नसकेको भन्दै आलोचना समेत गरेका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।