काठमाडौं। बढ्दो युवाहरुको विदेश मोहमा स्वदेशमा नै बसेर देशको लागि केही गर्ने युवाहरुको पनि कमी छैन्। उनीहरुले आफूले सिकेको शिक्षा तथा सीपलाई स्वदेशमा नै लगाउने र त्यसवाट मेहनतको फल फलाउने कार्य पनि गरिरहेका छन्। तिनै युवाको लहरमा मेलिना शाक्यको अग्रता पनि रहेको छ।

मेलिना शाक्यलाई पनि प्लस टु सकेपछि आम नेपाली किशोर तथा युवाहरुलाई जस्तो विदेश मोह नजागेको होइन ! एक मनले विदेश जाऔं जस्तो पनि लागेको थियो । विदेश गएपछि नेपाल फर्कने या नफर्कने कुनै टुंगो नहुने भएको कारण स्वदेशमा नै बसेर आफूले पाएको शिक्षा र सीपलाई प्रयोग गर्ने दरिलो सोचको विकास गर्ने कार्य मेलिना शाक्यवाट भयो ।

यस कार्यमा मेलिनाको पिता विश्वविख्यात नेपाली फोटोग्राफर कविन्द्रमान शाक्य तथा नेपालको पहिलो अस्पताल बीर अस्पतालको पहिलो ब्याँचकी नर्सिङ विद्यार्थी एवम् नेपाल आँखा अस्पतालकी सिनियर नर्स आमा निर्मला शाक्यको प्रेरणा थप ऊर्जा बन्यो। त्यही ऊर्जाले नेपालमा आफूले सिकेको सीप तथा क्षमतालाई स्वदेशमा पोख्न पछि परिनन्।

इन्टियर डिजाइनमा डिग्री हासिल गरेर काठमाडौ उपत्यकाका सयौं घरका इन्टियर डिजाइन गरेर ती घरको स्वरुपलाई नै गजबले परिवर्तन गर्न मेलिना शाक्यले सफलता पाएकी छन्। त्यसक्रममा, इन्टियर डिजाइनको अलावा यतिखेर आफूभित्रको फरक प्रतिभालाई उजागर गर्ने कार्यमा पनि मेलिनाले अग्रता दिएकी छन्। पुरानो माटोको खुत्रुके प्रणालीलाई मोडिफाइड गरेर त्यसलाई सोभिनियरको रुपमा विकास गरेर उपहार दिने गजबको माध्यम वनाउने कार्यमा मेलिनाले थप सफलता हासिल गरेकी छन्।

माटोका ती खुत्रुकेहरुको डिजाइनमा चित्रकलाको माध्यमवाट परिणत गरेर लोभलाग्दो वनाउने कार्य मेलिनावाट भएको छ। त्यसको अलावा माटोका खुत्रुके फुटाल्ने परम्परागत प्रणालीलाई परिवर्तन गर्न दिगो वनाउने कार्य मेलिनाले गरेकी छन्। माथिवाट खुत्रुकेमा पैसा हालेर बचत गर्ने र आवश्यक परेको बेला तलको विर्को खोलेर निकाल्ने उपाय गरेर सोभिनियर बनेको खुत्रुकेको आयुलाई बढाउने कार्य मेलिनाले गरेकी छन्।

युवा पुस्ताले विर्सन लागेको यो पुर्खाको नासोलाई आधुनिक तरीकाले जोगाउने कार्य मेलिनावाट भएको छ। यस्ता मूर्त तथा अमूर्त कार्य गरेर स्वदेश तथा विदेशमा नेपाल र नेपालीलाई चिनाउने कार्य गर्दैजाने मेलिनाले प्रतिवद्धता पनि व्यक्त गरेकी छन्।

प्रकाशन मिति–२०७७ साल माघ १७ गते शनिवार ।