–दिरेकलाल श्रेष्ठ
‘बाई ड्याडी !’ यो बोली चार दशक पूरा हुन लागेको आफ्नो यस उमेरमा मैले सयौंपटक बोलें होला । स्कुल जाने बेला होस् वा कतै छुट्टिने समय, भन्ने शब्द यही नै हो ! तर, मलाई एक–दुईपटक ‘बाई ड्याडी’ भनेको चाहिँ दृश्यसहित याद छ, म किशोरै छँदा मलाई तपाईंले इन्डियामा पढ्नका लागि होस्टेलमा छोडेर हिँडेका बेला यी शब्द बोल्दा म रोएको थिएँ । किनभने मलाई त्यहाँ बस्न कत्ति पनि मन थिएन । पछि, अमेरिकामा पढ्न बसेका बेला भेट्न आउँदा पनि यस्तै भयो, छुट्टिने बेला । यी दुवैपटक ‘बाई ड्याडी’ भन्दा मेरो मन कटक्क दुखेको थियो । तर, यसपटक भने मुटु नै क्षतविक्षत भयो ड्याडी । लाख प्रयास गरेर पनि तपाईंलाई बचाउन सकिनँ । कहाँ के कमजोरी भयो ड्याडी ? भगवान् किन हामीसँग रिसाए ? ‘ गला अवरुद्ध हुन्छ, तापनि मैले भन्नै पर्छ, बाई ड्याडी ।

तर, म रुन्न ड्याडी । तपाईंको सपना साकार पार्न रोएर सम्भव छैन । नेपालमा व्यावसायिक पत्रकारिताको विकास गर्न तपाईंले थालेको अभियानमा सहायक हुन सकियोस् भनेर नै म अमेरिकी ‘एचवानबी’ छोडेर नेपाल आएको हु“ । बीस वर्ष उमेरको फरकका हामी बाबु–छोरा पूरापूर साथीजस्तै थियौं । तपाईंले रोप्नुभएको कामना प्रकाशनको बिरुवा हाम्रो परिवारको मात्र होइन, सबै नेपालीको साझा सम्पत्ति हो भन्ने तपाईंको भनाइलाई हामी सबैले आत्मसात् गरेकै थियौं । कहाँ के कुरा मिलेन ड्याडी ?

केही मिलोस् वा नमिलोस्, असिना परोस् वा चट्टान झरोस्, तपाईंको व्यावसायिक पत्रकारिताप्रतिको समर्पण अब मेरो कर्तव्य हो । तपाईंकै पदचिह्नमा अघि बढ्ने, कामना समूहका सबै प्रकाशनलाई व्यावसायिक उचाइ प्रदान गर्ने अब मेरो एक मात्र लक्ष्य हो । यस लक्ष्यमा पुग्न तपाईंको भौतिक उपस्थिति मसँग छैन, मलाई थाहा छ, तर तपाईंले विरासतमा दिएको दृढ मानसिकता मसँग छ । सायद मेरो जन्मको तयारी हुँदै गर्दा तपाईंले कामना प्रकाशनरूपी घरको पहिलो शिला ‘कामना’ राख्ने तयारी गरिरहनुभएको थियो।
तपाईंको ‘कलम’ किताबमा कुँदिएको जीवनी पढेपछि थाहा पाएँ, मलाई पेटमा राखेर मेरी आमाले ‘तिमी आँखा म नानी, तिमी प्यासा म पानी’ बोलको गीत रेकर्ड गराउन रेडियो नेपालको स्टुडियो जानुभएको रहेछ।

Mr.Pushkar Lal Shrestha (Chief Editor of Kamana) with his beloved spouce Vetran Singer M/s Rajeshwari Shrestha.

भारी शरीर भएकी मेरी आमालाई लिएर तपाईं त्यहाँ त जानुभयो, तर आमाले शारीरिक अवस्थाका कारण लाज मानेर गीत गाउन नै सक्नुभएनछ । म महाभारतको अभिमन्यु त होइन, अर्जुनले चक्रव्युहका बारेमा जानकारी गराएको गर्भमै रहेका बेला पनि सबै थाहा पाउने, तर मलाई तपाईंले विगत डेढ दशकमा खुलारूपमै चक्रव्युह तोड्न सिकाइसक्नुभएको छ । मिडिया व्यवसायमा आवश्यक पर्ने अनुशासन र समर्पणको आधारभूत ज्ञान मैले पाइसकेको छु । तपाईं निश्चिन्त रूपमा पुण्य प्राप्त गर्नुहोस्, तपाईंको नाम उच्च राख्ने काममा म, मेरा भाइहरू, मेरी श्रीमती र अरू परिवारका सदस्य मात्र होइन, कामना प्रकाशन समूहको सिंगै परिवार समर्पित भएर लाग्नेछौं।

चुनौतीचाहिँ मैले चक्रव्युहसरह नै प्रस्ट देखेको छु ड्याडी । तपाईंको ‘कलम’ मा नवराज लम्सालजीले लेख्नुभएको छ नि, ‘सम्पादकको आँखामा प्रकाशक, प्रकाशकको आँखामा सम्पादक, लोकतन्त्रवादीको आँखामा अलोकतन्त्रवादी, अलोकतन्त्रवादीको आँखामा लोकतान्त्रिक, श्रमिकको आँखामा मालिक र मालिकको आँखामा श्रमिक । यसरी विभक्त छन् सिंगो पुष्करलाल श्रेष्ठ ।’ प्रकाशक र सम्पादक दुवै भएका कारण तपाईंलाई प्रकाशकहरूको समूहले ‘पुष्कर हाम्रो मान्छे होइन’ भनेको र सम्पादकहरूले ‘यो त साहुजी पो त’ भनेर पुकारिने गरेको चाहिँ मैले पनि अनुभव गरें। नर्भिक अस्पतालदेखि भूगोलपार्क हुँदै आर्यघाटसम्म र यी हरफ लेखिरहँदा भैंसेपाटीको घरैसम्म पनि शुभचिन्तकको लामो लाम यहाँले बनाउनुभएकोमा कुनै शंका छैन, सबैप्रति तपाईंको परिवार आभार पनि छ।

नेपालमा व्यावसायिक पत्रकारिताको विकास गर्न तपाईंले थालेको अभियानमा सहायक हुन सकियोस् भनेर नै म अमेरिकी ‘एचवानबी’ छोडेर नेपाल आएको हुँ।

समवेदना र श्रद्धाञ्जलिका शब्दहरू निरन्तर प्रवाहित भइरहेका छन् । यति हुँदाहुँदै पनि तपाईंलाई विभाजित आँखाले हेर्नेहरू पनि उत्तिकै रहेको मैले पाएँ । तपाईं बारम्बार भन्ने गर्नुहुन्थ्यो नि ‘बडी ल्याङ्ग्वेज’ भनेर, त्यो त प्रस्टै देखियो। तपाईंले ‘कलम’ मा कामना, साधना र महानगर जस्तै नेपाल समाचारपत्र किन तत्काल सफल हुन सकेन भन्ने प्रश्नको जवाफमा विश्लेषण गर्नुभएको छ नि, व्यावसायिक पत्रकारिता गर्दै आएको समूहले शुरू गरेको दैनिक अखबार उनीहरूका लागि दीर्घकालीन धक्काको विषय थियो, त्यसैले नेपाल समाचारपत्रलाई उनीहरूले गर्भमै तुहाउने प्रयास गरे । हामीजस्तो व्यावसायिक पत्रकारितामा विश्वास गर्नेहरूका लागि अव्यावसायिक प्रतिस्पर्धा कौरवहरूको चक्रव्युह नै त हो, जो षड्यन्त्रैषड्यन्त्रको जगमा निर्मित थियो ।

ड्याडी  तपाईं दिवंगत भएको समाचार कसले कसरी दियो, त्यसमा ‘बडी ल्याङ्ग्वेज’ प्रस्ट देखिन्थ्यो। धेरैले तपाईंप्रति उच्च सम्मान प्रकट गरे पनि केहीले आफ्ना पाठक–दर्शक–स्रोताले केही भन्ला भनेर औपचारिकता पूरा गर्ने काम मात्र पनि गरे।

फेरि पनि म तपाईंकै जीवनी ‘कलम’ कै अभिव्यक्ति लेखक अशोक सिलवालजीबाट सापट लिन चाहन्छु, ‘पत्रकारितामा धैर्य चाहिन्छ, जो पुष्करलालले देखाए । हतार गर्ने पत्रकार र लगानीकर्ताहरूले सफलता हासिल गर्न सकेनन्, तर कामनाले सफलता पायो । पैसाले मात्र हुने भए कैयौं फिल्मी पत्रिका र लोकतन्त्र, सगरमाथा, नयाँ सडक, स्पेस टाइम जस्ता ठूला आकारका पत्रिकासँग ठूलो लगानी थियो, तर सबै बन्द भए।’

तत्काल मुनाफा नहुने र मुनाफा हुने अवस्थामा पनि बढी नहुने पेसा मिडिया व्यवसाय हो भनेर जानेरै तपाईंले यसमा हात हाल्नुभएको हो । समाज सेवा र राज्यका तीन अंगको निगरानी गर्ने चौथो महत्वपूर्ण अंगमा हात हाल्ने तपाईंको चार दशकअघिको विचार, जो मेरो जन्मसँगै शुरू भयो । यसमा म गौरवको अनुभूति गर्दछु । तपाईंको यात्रालाई अझ बढी सफल र उचाइमा पु-याउनु नै मेरो जीवनको लक्ष्य हो।

यस लक्ष्यमा पुग्न तपाईंले मलाई जति ज्ञान र सीप दिनुभयो, मैले आफ्नो स्नातक पनि मास कम्युनिकेसन्समै गरें । मलाई विश्वास छ, तपाईं आफूले रोपेको प्रकाशन समूहको बिरुवा बीचमै ओइलाउने हो कि भनेर चिन्तित हुनुपर्दैन । मृत्युसँग पनि हामी बाबु–छोरा त्यति चिन्तित थियौं जस्तो मलाई लाग्दैन । यो त अवश्यम्भावी थियो । तर, एउटा कुरा भने खड्केकै छ । भगवान्ले हामीलाई एकठाउँमा भने झुक्याएकै हुन्– साठी–एकसट्ठी वर्षको अल्पायुमै लानु थियो, त्यो पनि मैले मानें तर मृत्युको संघारमा पनि पिता–पुत्रबीच संवाद हुन नपाउनु !

हाम्रो हिन्दू संस्कारमा मृत्युको संघार अति नै महत्वपूर्ण छ । रामायणको कथाले भन्छ– ‘रावणलाई वाण लागेर ढलेपछि रामले लक्ष्मणलाई दीक्षा ग्रहण गर्न उनीसामु पठाए ।’ महादुश्मनलाई पनि अन्तिम समयमा वार्तालापको अवसर दिने रामले हामी बाबु–छोराबीच संवाद हुने अवसर किन नदिएको रु छोरालाई बताउने केही महत्वपूर्ण आशिर्वचन मेरा पितामा पनि हुँदो हो ! तपाईंले एकपटक मलाई भन्नुभएको थियो– ‘मलाई आफ्नो ट्राभल डायरी र अटोबायोग्राफी दुई किताब निकाल्ने इच्छा छ।’ तर मलाई थाहा छैन, म तपाईंका इच्छाहरू कसरी पूरा गरौंला ?

एक चिनियाँ दार्शनिक कन्फ्युसियसको प्रसिद्ध भनाइ छ– ‘तिमीले उसलाई माछा देऊ, एकदिनको भोक मेट्छ तर तिमीले उसलाई माछा मार्न वा पक्रन सिकायौ भने उसको जीवनभरिको भोक मेट्न सकिन्छ।’ तपाईंलाई म भन्न चाहन्छु कि तपाईंले यस कामना पब्लिकेसन्सलाई व्यवस्थित बनाइसक्नुभएको छ । तपाईं बिरामी भएदेखि हामी दुवै बाबु–छोरा यस पब्लिकेसन्सको कार्यालयमा पाँच महिनासम्म नजाँदा पनि नेपाल समाचारपत्र दैनिक प्रकाशन भइरहेको थियो। प्रकाशित नेपाल समाचारपत्रको गुणस्तरमा समेत कमी आएको थिएन। हाम्रा पत्रकार–कर्मचारीले दिलैदेखि काम गरिरहेको पाइयो । ड्याडीको व्यवस्थापन र मार्गदर्शनले नै यो सब सम्भव भएको हो ।

ड्याडी ! तपाईंले मलाई पैसाको पछि नभएर आफ्नो रुचि तथा चाहनाको पछि लाग्न प्रेरित गर्नुभयो। तपाईंको सोच र अग्रसरताबाट नै कामना प्रतिष्ठानले सधैँ नवीन शैलीमा कार्य गर्दै आइरहेको छ। तपाईं प्रतिस्पर्धापट्टि लाग्नुभएन, बरु कामना, साधना तथा महानगरमार्फत नयाँ बजारको निर्माण गर्न लाग्नुभयो । यस क्रममा नेपाल समाचारपत्र प्रकाशन शुरू भएपछि भने हामीले कठिन संघर्ष गर्नुपरेको हो । तर पनि हामी नयाँ सोच र सिर्जनामार्फत अगाडि बढ्न छोडेका छौनौं। सीजी लक्स कामना फिल्म अवार्डको सफलताले पनि यो कुरा दर्साउँछ, हामी यहाँ नवीन सोच र कार्यका लागि आएका हौं, प्रतिस्पर्धाका लागि होइन । आगामी दिनहरूमा पनि म नयाँ अवसर र सम्भावनाको खोज तथा अन्वेषणमा लागिरहनेछु ।

ड्याडी ! तपाईंले आफ्नो जीवनका सफलता मात्र होइन, असफलता पनि मलाई सुनाउनुभएको छ । मैले तपाईंका दुवैखाले अनुभवबाट पर्याप्त पाठ सिकेको छु । सबै कुरा राम्रै चलिरहेको थियो । तर, यसैबीच तपाईंले छोडेर जानुभयो । मलाई थाहा छ, तपाईंले हामीलाई सधैं मागेको भन्दा बढी दिनुभयो। तपाईंजस्तो पिता पाउनु हाम्रा लागि गौरवको विषय हो । हिन्दू र बौद्ध धर्मअनुसार हामी पुनर्जन्ममा विश्वास गर्छौं । म भगवान्सँग प्रार्थना गर्दछु– तपाईं अर्को जुनीमा पनि मेरै पिता बन्नुहोस् ! यही मेरो कामना छ।

(नेपालको व्यावसायिक पत्रकारिताका धरोहर अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको १३ औं दिनको पुण्यतिथिमा छोरा दिरेकलाल श्रेष्ठले शोकलाई शक्तिमा बदलेर नेपाल समाचारपत्रको पुष्करलाल श्रद्धाञ्जली विशेष अंकमा लेखेको यो मन छुने आलेख नेपाल समाचारपत्रवाट साभार गरिएको हो।)

प्रकाशन मिति–२०७६ साल बैशाख १६ गते सोमवार ।