काठमाडौं। बेलायतमा छायाँकन भैरहेको चलचित्र हेल्लो जिन्दगीको शुटिङका क्रममा लण्डन पुगेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ। चलचित्र हेल्लो जिन्दगीमा काम गरेको केही दिनमै स्वेतालाई लण्डनमा नै स्वास्थ्यमा अचानक समस्या आएपछि आएपछि अस्पताल भर्ना भएकी थिइन । चिउडो मुनीको भाग अत्याधिक दुखेपछि अस्पतालमा पुगेर डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको स्वेताले आफ्नो फेसबुकमा लेखेकी छन ।

त्यसपछि स्वेतालाई लण्डनवाट तत्कालै भारतको नयाँ दिल्ली ल्याइएको थियो। त्यहाँ डा.सुरेन्द्र कुमार दासले आफ्नो सफल शल्यक्रिया गरिदिएको पनि स्वेताले जनाएकी छन् ।
शल्यक्रियापछि स्वेताले दुःखद स्टाटस लेख्दै अब नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् । स्वेताले अगाडि लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दुःखपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु– कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु।’

केही समय चलचित्रबाट टाढा रहेर सिन्धुपाल्चोकको भुकम्प पीडित माझी गाउंमा एकिकृत बस्ती निर्माणमा लागेकी स्वेता चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङको लागी लण्डन गएकी थिइन। अमर नायक श्रीकृष्ण श्रेष्ठसंग विवाह भएको दुई महिना नवित्दै श्रीमान गुमाउनु परेको पीडावाट केही बर्षअघि मात्र मुक्ति पाएकी स्वेताको स्वास्थ्यमा आएको गिरावट पश्चात स्वेताले यसलाई आफ्नो दोश्रो नयाँ जिन्दगी भनेकी छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख १६ गते सोमवार ।