काठमाडौं। नेपालमा विहीवारदेखि कोरोना संक्रमण कम भएको स्थानमा लकडाउनमा केही खुकुलो पारेको छ। सार्वजनिक ट्याक्सी तथा निजी सवारी साधन चलाउन छुट दिएको छ। त्यो पनि जोर–विजोरका आधारमा सवारी साधन चलाउने नियम राखेको छ।

अन्य सवारी साधनमा जोर–विजोर लागू गरिएको भएतापनि दुई पाङ्ग्रे मोटरसाइकललाई भने जोर–विजोरको प्रावधान लागू नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन्। इमेज खवरसंग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले मोटरसाइकलाई जोर–विजोरको प्रावधान नराखिएको खुलासा गरेका छन्।

‘लकडाउन’ खुकुलो गरेसँगै सरकारले निजी सवारी–साधनहरु सञ्चालनका लागि पनि केही नियमहरु बनाएको छ। चारपांग्रे सवारी–साधनको हकमा तीनजनाभन्दा बढी चढेको पाइएमा गाडीबाट ओराल्नेमात्र नभइ गाडी नै ‘होल्ड’ गरी कारबाही गर्न थालिएको छ।

मोटरसाइकलमा भने चालक एकजना मात्र सवार हुनुपर्ने प्रावधान राखिएवाट अति नै अव्यावहारिक भएको जनगुनासो देखिएको छ। ट्याक्सी वाहेक अरु साना तथा ठूला सार्वजनिक सवारी साधन चल्न नदिएको वर्तमान अवस्थामा गरीब मुलुक नेपालका लागि सवारीको सहज र सरल साधन भनेकै मोटरसाइकल तथा स्कुटर बनेको छ।

यस सवारी साधनमा एकजना मात्र सवार हुन पाउने प्रावधान व्यावहारिक नभएको कारण श्रीमान–श्रीमतीलाई पनि कही कतै अत्यावश्यक कारणले जानुपरेमा समस्या परेको छ। त्यसरी सवारहरुलाई मोटरसाइकल तथा स्कुटरवाट ओराल्ने ट्राफिकहरुसंग शुक्रवारको धेरैको भनाभन नै भएको पाइएको छ।

अव्यावहारिक नियम थोपारिदा धेरैलाई समस्या परेको छ। नचिनेको मान्छेलाई लिफ्ट दिदा पो कोरोनाको संक्रमण हुने डर हुन्छ। घरकै मान्छेलाई राखेर लैजांदा के को डर भन्ने धेरैको बुलन्द आवाज आएपछि शुक्रवार मध्यदिन देखि ट्राफिक प्रहरीहरु पनि अवाक बनेका छन्। उनीहरुले दुईजना सवारहरुलाई विहानसम्म कारवाही गरेको पाइएतापनि पछि कारवाही गर्नवाट हच्किएको पाइएको छ।

यदाकदा कारवाहीका नाममा मोटरसाइकल तथा स्कुटर पछाडि बस्नेलाई ओरालेर हिंडाउने गरेको भएतापनि ट्राफिकवाट टाढा भएपछि फेरि चढाएर लैजाने गरेको देखिएको छ। यो अव्यावहारिक नियम आवश्यक छैन भनेर जनगुनासो व्यापक रहेको छ। बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म भने निजी सवारी–साधनहरु चलाउन रोक भने लगाइएको छ। यसमा कसैको गुनासो पाइएको छैन्।


प्रकाशन मिति–२०७७ साल जेठ ३१ गते शनिवार ।