काठमाडौ। नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो। मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको त्यहाँको प्रशासनले जनाएको छ। वैशाख २८ गते मोदीको मुक्तिनाथ भ्रमणका लागि तीन दिनसम्म अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि त्यहाँ छलफल चलेको छ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारी साधान रोकेर स्तरोन्नतिको काम भइरहेको छ। भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको बताइएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।