काठमाडौं। दशैंको पूर्वसन्ध्यामा यातायात व्यवसायीको चर्को दबाबलाई खेप्न नसकेर सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति गरेको छ।

इन्धनको मूल्य वृद्धि हुँदा मारमा परेको भन्दै यातायात व्यवसायीले मूल्य समायोजन वा भाडा वृद्धिको माग राखी दसैं तिहारमा अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकारले तत्काललाई १० प्रतिशत भाडा बढाउने सहमति गरेको हो।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको हो। सहमतिअनुसार यातायात व्यवस्था विभागले आइतबारबाट नयाँ भाडादर कायम गर्नेछ भने यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्ने छन्।

त्यस्तै, सरकार र यातायात व्यवसायीबीच मूल्य वृद्धिअनुसारको भाडा समायोजन गर्न समिति गठन गर्ने र आगामी मंसिरसम्ममा समय सापेक्ष समायोजन गर्ने सहमति भएको यातायात मन्त्रालयले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल असोज ६ गते शनिवार ।