काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने निर्णय गरेको हो।

विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरेर यो बर्षको एसईईको प्रमाण–पत्र दिने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन्। त्यसका लागि भने राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ।

‘कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको छ,’ मन्त्री पोखरेलले भने, ‘परीक्षा गर्ने वातावरण नभएकाले आन्तरिक मूल्याङकनलाई वैधता दिने निर्णय भयो ।’ बोर्डले कार्यविधि बनाएर प्रमाणित गर्ने समेत उनले बताए।

कक्षा ११ र १२ को परीक्षाको विषयमा भने कुनै निर्णय नभएको मन्त्री पोखरेलले भनेका छन्। कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा सञ्चालन गरिने मन्त्री पोखरेलको भनाई छ । कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएका कारण सञ्चालन गर्न आवश्यक रहेको उनले जनाए ।

आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री पोखरेलले बताए। चैत ६ गतेदेखि सञ्चालन गर्न समय तालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो।

४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए। लकडाउनका कारण परीक्षा अनिश्चित बन्दै जाँदा सरकारले बुधबार यस वर्ष परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो।
प्रकाशन मिति–२०७७ साल जेठ २८ गते बुधवार ।