काठमाडौं। मन्त्रिपरिषद्को बुधबार राति अवेर बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ। त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएको लगतै राति अवेर बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कान्तिपुरको अनलाइन संस्करणलाई सरकारले भोलि विहीवारबाट नै बजार खोल्न दिने निर्णय भएको बताएका छन्।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने पनि निर्णय भएको छ। ती सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिएको मन्त्री पुनले भनेका छन्। जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन्।

मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो। जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ २८ गते बुधवार ।