काठमाडौं। प्रतिनिधिसभाका महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्।

महराले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो। संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ। मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

अनुसन्धान शुरु
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुर्व्यवहार आरोपको प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको बताएको छ । यस्तै दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।

यसैबीच गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीबीच गृहमन्त्रालयमा यसै विषयमा छलफल भइरहेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार अहिले घटनास्थल र प्रमाणहरु सुरक्षित गर्ने कार्य भइरहेको छ। यससँगै अनुसन्धान प्रक्रिया पनि अगाडि बढाइएको छ।

स्रोतका अनुसार बानेश्वर वृत्तलाई अनुसन्धानमा सघाउन र समन्वय गर्नका लागि परिसरबाट मुद्दा शाखाका डीएसपीलाई समेत अनुसन्धान गर्न खटाइएको छ।

उच्च प्रहरी स्रोतका अनुसार ती महिला कर्मचारीले आइतबार साँझ प्रहरी हटलाइनमा फोन गरेर आफू माथि दुर्व्यवहार भएको जानकारी गराए लगत्तै बानेश्वर वृत्तबाट डीएसपी दुर्गा रेग्मीसहितको एक टोली घटनास्थल पुगेको थियो। डीएसपीको टोलीले घटनाबारे महिलासँग सोधपुछ गर्दा दुर्व्यवहार मात्र गरेको र स्वास्थ्य परीक्षण गर्न नजाने बताएपछि उनीहरुले घटनास्थलको फोटो र भिडियो मात्रै खिचेर फर्किएका थिए।

यस्तै प्रहरीले सोमबार बिहानैबाट उक्त घटनाको प्राविधिक अनुसन्धान सुरु गरिसकेको दाबी स्रोतले गरेको छ। प्रहरीले हिजै मोबाइलको कल डिटेल्स तथा महरा र महिलाबीच सामाजिक सञ्जाल लगायत अन्य अनलाइनको माध्यमबाट भएको कुराकानीको समेत अनुसन्धान गरिरहेको छ।

प्रकाशन मिति–२०७६ साल असोज १४ गते मंगलवार।