ललितपुर। यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट श्यामप्रसाद तिमिल्सिना चुनावी मैदानमा उत्रिएका छन्। ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मेका तिमिल्सिना विसं.२०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति भैसकेका छन्।

पूर्वपञ्च केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन् । उनी यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट चुनावी मैदानमा उत्रिएका हुन्। विसं.२०६४ सालको पहिलो संविधानसभा पशुपतिशम्शेरको राप्रपाबाट ललितपुर क्षेत्र नं १ मा उम्मेदवारी दिएका उनले पछि राप्रपा नेपालमा प्रवेश गरेर डा प्रकाशचन्द्र लोहनीसंगै सो पार्टीबाट बाहिरिएका थिए। उनले यो आसन्न निर्वाचनमा संविधान संशोधन गरेर धर्म सापेक्ष, राजासहित प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने एजेण्डाका घरदैलो अभियानलाई तीब्रता दिइरहेका छन् ।

तिमिल्सिना प्रतिनिधिसभातर्फ ललितपुरको क्षेत्र नं ३ ‘क’ र ‘ख’ उम्मेदवार विक्रम बस्नेत र दिपा विष्टसंगै घरदैलो अभियानमा सक्रिय रहेका छन्।
‘मेरो उम्मेदवारी अहिले संविधानले प्रवाह गरेको विचार भन्दा पृथक भएपनि यसको बलियो जनमत रहेको छ ।’ उम्मेदवार तिमिल्सिनाले भनेका छन्–‘हाम्रो मुख्य प्रतिबद्धता भनेको बौद्ध, मुसलमान, किँरात लगायत सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान सनातन हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रप्रमुखको रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन गर्ने रहेका छन् ।’

उम्मेदवार तिमिल्सिनाले जनताको चाहना विपरीत लहडको भरमा नेपाललाई धर्मनिरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने पनि भनेका छन्। गणतन्त्रको नाउँमा देशमा भ्रष्टाचार मौलाएको बताउँदै उनले राष्ट्रवादलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

हिमाल, पहाड र तराई मधेश सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीले देशैभरि उम्मेदवारी दिएको पनि उनले जानकारी दिएका छन् । ललितपुर क्षेत्र नं ३ मा काँठ क्षेत्रका साविकको हरिसिद्धि, ठैब, बाडेगाउँ, सुनागुठी, ठेचो, बुंङ्गमती, खोकना ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, २० रहेका छन् ।
प्रकाशन मिति–२०७४ साल मंसीर ५ गते मंगलवार ।